अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका नाउंबाट न्यूनतम तलव तथा दैनिक भत्ता वृद्धिको माग राखी यही जेष्ठ २३ गतेदेखि देशव्यापी उद्योग कालकारखाना तथा व्यवसाय बन्द गर्ने भनि गरिएको आव्हानप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
श्रमिक कामदारको न्यूनतम मासिक तलवका विषयमा सरकारद्वारा गठित रोजगारदाता, ट्रेडयुनियन र सरकारका प्रतिनिधि सम्मिलित समितिले सिफारिश गरिसकेको छ । उद्योग व्यवसायले भोगेको विषम परिस्थितिमा पनि यसपटक सवैको सहमतीमा सो सिफारिस भएको हो । चर्को लोडसेडिङ्ग, बैकिङ व्याजदर, श्रम अस्थिरता, मजदुर कामदार माथि अति राजनीतिकरणका कारण उद्योग व्यवसाय संचालन निकैनै कष्ठकर बन्दै गएको परिस्थितिमा श्रमिक कामदारका राष्ट्रिय ट्रेडयुनियन महासंघका प्रतिनिधिहरु समेत बसेर सिफारिस गरिएको अवस्थामा पुन: न्यूनतम मासिक तलव वृद्धिको माग राखी बन्द हड्तालमा उत्रनु कुनै पनि हालतमा तर्क संगत र न्यायसंगत हुन सक्दैन । जेनतेन संचालनमा रहेका उद्योग प्रतिष्ठानहरु पनि यस प्रकारका विरोधबाट बन्द हुन बाध्य हुनेतर्फ समेत महासंघ ध्यानाकर्षण गराउंदछ ।
लामो गृहकार्यपश्चात सिफारिस गरिएको तलवमानमा चित्त नवुझी आव्हान गरिएको यस प्रकारको आन्दोलनले रोजगारदाता र श्रमिक कामदार बीच कायम सौहार्दपूर्ण वातावरण तथा औद्योगिक शान्ति कायम गर्ने हाम्रो प्रयासमै प्रतिकुल प्रभाव पार्नेतर्फ ध्यानाकर्षण गराउंदै भोलीदेखि गर्ने भनिएको देशव्यापी उद्योग कालकारखाना तथा व्यवसाय बन्दको कार्यक्रम फिर्ता लिन महासंघ सम्बन्धित पक्षसमक्ष गम्भीर आग्रह गर्दछ । साथै सरकारलाई पनि उद्योग प्रतिष्ठान निर्वाधरुपमा संचालन गर्ने वातावरण बनाई दिन महासंघ आग्रह गर्दछ ।