»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योगप्रतिष्ठान वन्द तथा उद्योगप्रतिष्ठान माथि भएका आक्रमणका सम्बन्धमा महासंघद्वारा पत्रकार सम्मेलनको आयोजना गरी जारी विज्ञप्ति (२०७०/२/२४)


Press Conference

हिजो जेष्ठ २३ गते, ६-७ जनाको संख्यामा आएको केही अराजक समूहले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री प्रदीपजंग पाण्डेको गोंगबुस्थित लोमस हर्वल रिसर्च सेन्टरमा जवरजस्ती प्रवेशगरी हातपात र तोडफोड गरेको छ । उक्त समूहले त्यहां कार्यरत व्यवस्थापक, कर्मचारीमाथि आक्रमणका साथै प्रदिपजंग खोइ ? उसलाई पछि छाड्दैनौ जस्ता कुरा दोहोर्‍याएबाट सो समूह महासंघका पदाधिकारी माथिनै सांघातिक हमला गर्ने उद्देश्यले आएको प्रष्ट हुन्छ । हिजोनै चौधरी समूहको कार्यालय सानेपामा पनि हातपात र तोडफोड भएको छ । कतिपय ठाउंमा उद्योग प्रतिष्ठान बलजफ्ति बन्द गराईका छन् । यी गतिविधिलाई नेपाल उद्योग वाणिज्य महासंघले पूर्ण त: गैर कानूनी, अराजक, आपत्तिजनक र सम्पूर्ण निजी क्षेत्र माथिको सुनियोजित आक्रमणको रुपमा लिएका छौं ।

उद्योग व्यवसाय र उद्योग प्रतिष्ठान माथिको आक्रमणको श्रृंखलाका केही उदाहरणलाई लिंदा हालै मात्र र्‍याडिशन होटेलका MD माथिको आक्रमण, NCell को कार्यालयमा भएको ढुंगा प्रहार, सिटिजन्स बैंकका CEO माथिको सांघातिक आक्रमण, महासंघका उपाध्यक्ष श्री पशुपति मुरारकाको गाडि तोडफोड लगायत उद्योग बन्दको नाममा उद्योग प्रतिष्ठानमा आक्रमण, तोडफोड, चन्दा आतंक र धम्की जस्ता गतिविधि क्रियाकलापको स्मरण गराउंदछौं र अहिलेको घटना त्यहिं श्रृंखलाको निरन्तरताको रुपमा लिएका छौं ।

अराजकता दिन प्रतिदिन बढ्दै गएको छ । उद्योग व्यवसाय एवं उद्योगी व्यवसायीलाई लक्षित गरी एकपछि अर्को रुपमा आक्रमणका घटनाहरु बढीरहेका छन् । न्यूनतम ज्याला भनेको सरकारको अधिकारको बिषय भएको र सरकारले बनाएको सुझाव समितिमा महासंघको प्रतिनिधित्व रहेको स्पष्ट पार्दछौं । यो समितिमा कसलाई राख्ने भन्ने बिषय महासंघले निर्धारण गर्ने होइन सरकारले हो । सरकारले जसजसलाई प्रतिनिधि तोक्यो तिनैसंग बसेर महासंघका प्रतिनिधिहरुले न्यूनतम ज्यालाको मात्र सिफारिश गरेका हुन् । यसमा महासंघले कोसंग वार्ता गर्‍यो र कोसंग गरेन भन्ने प्रश्ननै आउंदैन ।

सिफारिश गरिएको रकमकै कुरा गर्ने हो भने यो गत २ वर्षमा भएको मूल्य बृद्धि भन्दा ५० प्रतिशतले बढी छ र नेपालको न्यूनतम पारिश्रमिक दक्षिण एशियाकै सबभन्दा धेरै हुन पुगेको छ । हालको परिस्थितिमा उद्योग व्यवसायले धान्न सक्ने भन्दा बढी न्यूनतम पारिश्रमिक सिफरिश भएको छ र यसका विरुद्ध दोब्बर भन्दा बढि बृद्धि गर्ने भनेर उद्योग प्रतिष्ठान बन्द गर्दै हिंड्नु असान्दर्भिक मात्र होइन नेपालको सम्पूर्ण उद्योग व्यवसायको अवस्था नबुझेको वा उद्योग व्यवसाय चल्नै नदिने नियतले गरिएको प्रष्ट पार्न चाहन्छौं । “यी घटना हाम्रा साथीहरुले उत्तेजित भएर भएका हुन्” भन्ने जस्तो वक्तव्य आउनुले बन्द गराउंदै हिंड्ने समूहको कानूनप्रति कुनै आस्था नरहेको र गैर कानूनी क्रियाकलापबाट आफूलाई स्थापित गर्दै जाने लक्ष लिएको स्पष्ट हुन्छ । यस्तो कुराको हामी घोर निन्दा एवं भत्सर्ना गर्दछौं ।

सरकारले बनाएको कानून मानेर उद्योग व्यवसाय गर्ने व्यवसायी, तीनका प्रतिष्ठान र ती प्रतिष्ठानमा कार्यरत मजदूर कर्मचारीलाई सुरक्षा दिनु पर्ने दायित्व राज्यको हो । तसर्थ हामी राज्य व्यवस्थासंग निर्वाध र सुरक्षित रुपमा आफ्नो पेशा व्यवसाय गर्न पाउने अवस्था बनाई दिन समेत माग गर्दछौं । साथै यस्ता उच्छृंखल कार्य गर्ने व्यक्तिहरु र यस्ता कार्यलाई जायज ठहर्‍याउने तथाकथित तीनका नेताहरुलाई समेत कानूनी कठघरामा उभ्याई कडा कारवाही गर्न सरकारसंग जोडदार माग गर्दछौं ।

अहिलेको अवस्थामा बन्द हडताल भएमा बन्द हडतालको समयको पारिश्रमिक नदिईने No Work No Play प्रष्ट पार्दछौं र ट्रेड यूनियनका जिम्मेवार नेताहरुलाई यस्ता हडताल बन्दको विरुद्धमा महासंघसंगको ऐक्यवद्धता जनाउन आग्रह समेत गर्दछौं ।

व्यवसाय माथिको आक्रमण र उद्योगी व्यवसायीलाई तर्साउने धम्क्याउने काम नरोकिए सम्पूर्ण उद्योगी व्यवसायीहरु कडासे कडा कदम चाल्न वाध्य हुने छन् । श्रमिक कामदारका कुनै समस्या र माग छन् भने विधिसम्मत प्रक्रियाबाट त्यसको निकास निकाल्न हामी सदैव तयार छौं । राजनीतिक उद्देश्य प्राप्तीका लागि उद्योग व्यवसायलाई निशाना बनाउन हुन्न भन्ने हाम्रो मान्यता रही आएको छ । त्यसो नगर्न हामी वारम्वार अनुरोध गर्दै आएका छौं र अनुरोध गर्दछौं ।

उद्योग व्यवसायमाथि आक्रमण गर्ने/गराउने, तोडफोड गर्ने माथि कडा कार्वाही मात्र होईन त्यस्तो कामबाट भएको क्षतिको सम्पूर्ण हर्जाना पनि दिने व्यवस्था हुनु पर्दछ भन्ने हाम्रो माग हो ।

आज आयोजित पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष सुरज वैद्यले श्रमिक कामदारका कुनै समस्या र माग छन् भने विधिसम्मत प्रक्रियाबाट त्यसको निकास निकाल्न सकिन्छ तर राजनीतिक उद्देश्य प्राप्तिका लागि उद्योग व्यवसायलाई निशाना बनाउन कुनै पनि हालतमा तर्क संगत नहुने धारणा राख्नु भयो । यस्ता घटनाबाट उद्योगी व्यवसायीहरु निरास भई आफ्नो व्यवसायनै बन्द गर्न बाध्य हुने तर्फचिन्ता प्रकट गर्दै अध्यक्ष वैद्यले यस्तै अवस्था रहने हो भने भोली पूंजीपलायनको खतरा बढ्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षहरु भवानी राणा र पशुपति मुरारकाले बन्द तथा आन्दोलन निरन्तर भैरहने हो भने कुनै पनि समयमा उद्योग व्यवसाय वन्दहुने स्थिति आउन सक्ने तर्फ ध्यानाकर्षण गराउनु भयो । लोमस हर्वल रिसर्च सेन्टरका निर्देशक प्रज्ज्वलजंग पाण्डेले सेन्टरमाथि हिजो भएको आक्रमणका सम्बन्धमा जानकारी गराउनु भयो ।

उद्योग कारखानामा जवरजस्ती गर्ने, कादारलाई काम गर्न नदिने, धम्क्याउने र औद्योगिक शान्ति खलबल्याउने प्रबृत्तिको निजी क्षेत्र सदाझै कडा विरोध गर्दछौं । विरोध र फरक विचार राख्ने अधिकार सबैलाई छ, विरोधको नाममा औचित्यहिन विवाद सिर्जना गर्नु हुंदैन भन्ने हाम्रो प्रष्ट धारणा छ ।

शान्तिपूर्ण ढंगले, वार्ता र छलफलबाट कानून सम्मत, विधिसम्मत निष्कर्षमा पुग्नुको विकल्प छैन, बखेडा खडा गरेर कसैलाई फाईदा हुंदैन, हामी आग्रह गर्दछौं अराजक गतिविधिमा नजाऔं छलफल र सम्वादबाट प्रक्रियागत रुपमा समस्याको समाधान खोजौं यो नै उचित बाटो हो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.