नेपालमा पुन बन्दको श्रृंखला शुरु भएको छ र ३३ राजनीतिक दलको नाउंमा आज गरिएको बन्दमा बन्दकर्ताहरुद्वारा विभिन्न जिल्लाहरुमा जवरजस्ती रुपमा बन्द गराउने क्रममा व्यवसायमाथि आक्रमण तथा तोडफोड समेत भएको समाचारले नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । खोटांग लगायत केही जिल्लाहरुमा व्यवसाय तथा पसलमाथि आक्रमण तथा तोडफोड गरि क्षति पुर्याइएको छ । जवरजस्ती रुपमा मानिसको व्यक्तिगत सम्पत्ति माथि आक्रमण गरिनु कुनै पनि तरिकाले न्यायोचित मान्न सकिंदैन । महासंघ यस्ता कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछ ।
जवरजस्ती गराईएको बन्दले आम नागरिकको स्वतन्त्रतापूर्वक हिंडडुल गर्न पाउने, कानूनसम्मत तरिकाले आफ्नो पेशा, व्यवसाय गर्न पाउने अधिकार कुण्ठित भएको छ । आफूलाई राजनीतिक शक्ति ठान्नेहरुबाटै आम नेपाली जनतालाई दु:खदिने कार्य हुनु अशोभनिय कुरा हो । बन्दले कुनै पनि समस्याको समाधान दिन सक्दैन र यसले नेपालको उसैनै कमजोर परेको अर्थतन्त्रलाई अझ जर्जर मात्र तुल्याउंछ भन्ने कुरा पुन: दोहोर्याउंछौं ।
नेपाल उद्योग वाणिज्य महासंघ बन्दकर्ताहरुलाई संविधान प्रदत्त आम नेपालीको मौलिक अधिकार माथि हनन नगर्न गम्भीर आग्रह गर्दछ । साथै अहिलेको परिस्थितिमा कुनै पनि किसिमका बन्द आयोजना नगर्न आव्हान समेत गर्दछ । नेपाल सरकार समक्ष पनि उद्योग व्यवसाय लगायत विभिन्न पेशा व्यवसाय गर्न सक्ने वातावरण वनाई दिन तथा सुरक्षाको प्रत्याभुति दिलाउन महासंघ आग्रह गर्दछ ।