नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र नेपालका लागि श्रीलंकाका राजदुत डव्लू.एम. सिनिभीराथन (H.E. W.M. Senevirathna, Ambassador of the Democratic Socialist Republic of Sri Lanka to Nepal) बीच आज महासंघ सचिवालयमा द्धिपक्षीय भेटवार्ता सम्पन्न भयो ।
श्रीलकंन राजदुतावासका काउन्सिलर दिक्जोन जे. परेरा (Mr. Dixon J. Perera) र महासंघका महानिर्देशक डा. हेमन्त दवाडी समेत रहनु भएको सो अवसरमा नेपाल र श्रीलंका बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, कृषि प्रविधिको आदान प्रदान, नेपालमा श्रीलंकन पर्यटक आकर्षण, लुम्विनीको विकास तथा नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरुका विषयमा कुराकानी भयो । सो अवसरमा आगामी नोभेम्वरमा श्रीलंकामा आयोजना हुने “कमनवेल्थ वीजनेश फोरम”का विषयमा पनि छलफल भयो ।
भेटवार्ताका क्रममा अध्यक्ष वैद्यले नेपाल र श्रीलंका बीचको सम्बन्ध अत्यन्त घनिष्टतम रहेको चर्चा गर्दै नेपालमा श्रीलंकन पर्यटकहरुको आकर्षणका लागि कुटनीतिक सहयोगको अपेक्षा गर्नुभयो । एक तथ्यांक अनुसार श्रीलंकाबाट प्रत्येक वर्ष २० लाख बढी श्रीलंकनहरु विदेशभ्रमणमा जाने र त्यसको ५० प्रतिशतले भारतको भ्रमण गर्ने गर्दछन् । भारतमा आउने श्रीलंकन पर्यटकहरुको केही अंशमात्र नेपालमा ल्याउन सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा निकै ठूलो योगदान पुग्ने सो अवसरमा वताइयो ।
अध्यक्ष वैद्यले लुम्विनीको विकासमा पनि श्रीलंकन सहयोगको चर्चा गर्दै लुम्बिनीस्थित रामग्रामका वारेमा पर्याप्त प्रचार प्रसार हुन सक्यो भने श्रीलंकन पर्यटकहरुको आगमन बढ्ने विश्वास प्रकट गर्नुभयो । यसका लागि श्रीलंकन राजदुतावासको सहयोगको लागि आग्रह गर्नुभयो । अध्यक्ष वैद्यले आगामी नोभेम्वरमा श्रीलंकामा आयोजना हुने “कमनवेल्थ वीजनेश फोरम” बैठकमा महासंघको प्रतिनिधिमण्डलले भाग लिने समेत विश्वास दिलाउनु भयो ।
सो अवसरमा राजदुत डव्लू.एम. सिनिभीराथन (H.E. W.M. Senevirathna, Ambassador of the Democratic Socialist Republic of Sri Lanka to Nepal) ले लुम्विनीको विकासमा आफ्नो देशको संलग्नता रहंदै आएको र सो निरन्तर जारी रहने बताउनु भयो । उहांले द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारका लागि कुटनीतिक तवरबाट आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो ।