सरकारका तर्फबाट सुन व्यवसायीहरुलाई कारवाही अगाडी बढाइएको विषयलाई लिएर सुनचांदी तथा जवाहरात व्यवसायीबाट जारी आन्दोलनका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । सुनचांदी नेपालीहरुको संस्कारसंग पनि जोडिएको वस्तु हो र संसारभरीनै सुनचांदीको व्यापारको विशिष्ट स्थान रहेको छ । नेपालमा पनि यस वस्तुको व्यापारले अर्थतन्त्रको अवस्थालाई समेत इंगित गर्दछ । सुनचांदीको व्यापार ठप्प हुंदा संलग्न व्यवसायीका अतिरिक्त आम उपभोक्ता समेत चर्को मारमा पर्न गएका छन् । यसरी दर्शौदिनसम्म सुनचांदीको कारोवार नहुंदा पनि सरकारबाट समस्या समाधान गर्ने तर्फ आवश्यक पहल नहुनुलाई हामीले गम्भीर रुपमा लिएका छौं ।
व्यवसायीहरुले सुनचांदी व्यवसायलाई सुव्यवस्थित रुपमा संचालन गर्नका लागि नेपाल सुनचांदी व्यवसायी महासंघ र नेपाल सुनचांदी रत्न तथा आभुषण महासंघका तर्फबाट संयुक्त रुपमा कार्यविधिको मस्यौदा तयार गरी सरकारमा वुझाई सकेको अवस्थामा त्यसलाई आजसम्म अन्तिमरुप दिई कार्यान्वयन नगर्दानै यो परिस्थिति सृजना भएको महासंघको ठम्याई छ । विषयको गाम्भिर्यता र संवेदनशीलतालाई बुझेर सरकारबाट यथाशीघ्र मापदण्ड निर्देशिका तयार गरी कार्यान्वयन गर्नुपर्ने तर्फ यस महासंघको जोडछ ।
नेपाल उद्योग वाणिज्य महासंघ खुला र बजारमा आधारित प्रतिस्पर्धी अर्थ व्यवस्थामा विश्वास गर्दछ । यस महासंघले हड्ताल, वजार वन्द, चक्काजाम जस्ता क्रियाकलापको समर्थन गर्ने नगरेको र यस्ता कार्यले अर्थतन्त्रलाई नकारात्मक असर पार्ने कुरा प्रष्ट पार्दै आएको हो । सुनचांदीको गुणस्तरमा विश्वसनियता र बजार अनुगमनको मापदण्ड हुनु पर्ने कुरामा पनि हामी स्पष्ट छौं ।
अत: सुन व्यवसायी र सरकार बीचको हालको विवादलाई जतिसक्दो छिटो टुंगोमा पुर्याई व्यवसाय निर्वाध संचालन गर्ने वातावरण तयार गर्न सरकारसंग माग गर्दै व्यवसायीहरुलाई समेत आआफ्नो व्यवसाय संचालन गर्न आग्रह गर्दछ ।