नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको १३ औं बैठक महासंघका अध्यक्ष सुरज वैद्यको सभापतित्वमा हिजो महासंघ सचिवालयमा सम्पन्न भयो ।
बैठकले मुलुकको विद्यमान वस्तुस्थिति, उद्योग वाणिज्य महासंघले यस बीचमा सम्पन्न गरेका कार्यक्रमहरुका सम्बन्धमा छलफल हुनुका साथै निम्न लगायतका विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकमा महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशी, विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरु प्रदीपजंग पाण्डे र पशुपति मुरारका, समिति तथा फोरम सभापतिहरु, कार्यकारिणी समिति सदस्यहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो ।
बैठकका निर्णयहरु:
> विभिन्न परिस्थितिका कारण उद्योग व्यवसाय सहित निजी क्षेत्र अनेकन समस्याबाट ग्रसित भैरहेको स्थितिमा आर्थिक वर्ष २०७०-७१ को वार्षिक वजेट उद्योग व्यवसाय एवं लगानीमैत्री बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने,
> महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशीले अगुवाई गर्नु भएको नेपाल पूर्वाधार विकास कम्पनीलाई काठमाडौं-हेटौंडा सुरुङ मार्ग निर्माणको स्वीकृती दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिदै पूर्वाधार विकास कम्पनीलाई वधाईका साथै समयमानै निर्माण सम्पन्न गर्न शुभकामना दिने,
> नेपालका धेरै व्यवसायीहरुलाई मुअकरमा मिसम्याचको समस्या, डाइरेक्टर्स लोन, उद्योग प्रतिष्ठान आफैले गरेको निर्माणमा समेत मुअकर तिर्नुपर्ने प्रावधान लगायतका समस्याहरुको वजेटबाट उचित संवोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने, साथै चितवनको लक्ष्मी वस्त्रालयका प्रोपाइटर लक्ष्मीनारायण श्रेष्ठ तथा निजको परिवार माथि भएको अन्यायपूर्ण व्यवहारमाथि गम्भीर ध्यानाकर्षण भएको र यी लगायत नेपालका अन्य स्थानहरुमा उद्यमी व्यवसायी माथि भएको अन्यायपूर्ण व्यवहार एवं कारवाही अन्त्य गरी न्यायोचित रुपमा समस्या समाधान गर्न नेपाल सरकारलाई आव्हान गर्ने, यस्ता समस्याको उपयुक्त एवं तर्कसंगत समाधान नभएमा सम्पूर्ण उद्यमी व्यवसायीहरु आक्रान्त हुने र त्यसको नकारात्मक गम्भीर परिणाम निस्कन सक्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउने,
> सुदूरपश्चिमका वाढी प्रभावित क्षेत्रलाई समेत विश्लेषण गरी नेपालमा प्राकृतिक प्रकोपको धेरै सम्भावना भएकाले त्यस्ता वेला तत्काल राहत उपलव्ध गराउन एक दैवी प्रकोप सहायता कोष खडा गर्ने र सोकोषमा उदारतापूर्वक सहयोग गर्न सम्पूर्ण उद्यमी व्यवायीहरुलाई आव्हान गर्ने ।
> नेपाल उद्योग वाणिज्य महासंघसंग सहकार्य गर्दै एक जिल्ला एक उत्पादन लगायतका कार्यक्रमहरुमा चालु आवमा वजेट व्यवस्था गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने र आगामी वर्षमा यी लगायतका महासंघले सहकार्य गर्न प्रस्ताव राखेका विभिन्न कार्यक्रमहरुमा वजेट व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने, नेपाल सरकारसंग सहकार्य गर्दै अगाडी बढ्ने काममा महासंघको प्रतिवद्धता जनाउने,
> एक वस्तुगत संघ र १४ वटा उद्योग प्रतिष्ठानहरुलाई महासंघको नयां सदस्यता प्रदान गर्ने,
> सुप्रवल जनसेवा श्री पदकबाट विभुषित हुनु भएकोमा महासंघका अध्यक्ष सुरज वैद्यलाई वधाई दिने, न्यूनतम पारिश्रमिक सुझाव समितिमा महासंघका तर्फबाट प्रतिनिधित्व गर्नुहुने मनिष अग्रवाल, उदयराज पाण्डे र अशोककुमार तोदीलाई उहांहरुको अथक योगदानको कदर गर्दै धन्यवाद दिने, पूर्व वजेट सुझाव कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा कर तथा राजश्व समिति सभापति जगदिश प्रसाद राठी सहित समिति टिमलाई धन्यवाद दिने लगायतका निर्णय गर्दै बैठक सम्पन्न भयो ।