नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसंग दिल्लीस्थित थाइ राजदुतावासका मिनिष्टर काउन्सिलर (कमर्सियल) थाराडोल थोङरोङ (Tharadol Thongrung, Minister Counsellor (Commercial), Embassay of Thailand to India)ले आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता गर्नुभयो । सो अवसरमा नेपाल थाइल्याण्ड बीच द्विपक्षीय व्यापार, आपसी सहकार्यका सम्भाव्य क्षेत्रहरु, पर्यटन, व्यापार मेला महोत्सव लगायतका विषयमा छलफल भयो ।
सो अवसरमा मिनिष्टर काउन्सिलर (कमर्सियल) थाराडोल थोङरोङ (Tharadol Thongrung, Minister Counsellor (Commercial), Embassay of Thailand to India) लाई महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले द्विपक्षीय लगानी प्रवद्र्धनमा जोड दिनु भयो । अध्यक्ष वैद्यले महासंघले अगाडी बढाएको एक गाउं एक उत्पादन कार्यक्रम (ओडोप) निकै सफलतापूर्वक संचालन भैरहेको र सरकारको यस वर्षको वजेटमा पनि उच्च प्राथमिकतामा परेको जानकारी गराउंदै (ओडोप) मा थाइल्याण्डले गरेको प्रगति तथा प्रविधि नेपालका लागि उपयोगी हुने सन्दर्भमा सहयोग गर्न आग्रह गर्नुभयो । अध्यक्ष वैद्यले लुम्विनीको विकास तथा प्रचार प्रसारका क्षेत्रमा पनि सहकार्यको सम्भावना औल्याउनु भयो । साथै उहांले आगामी वर्ष आयोजना हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा थाइल्याण्डको सहभागिताका लागि आमन्त्रण गर्नुभयो ।
सो अवसरमा मिनिष्टर काउन्सिलर (कमर्सियल) थाराडोल थोङरोङ (Tharadol Thongrung, Minister Counsellor (Commercial), Embassay of Thailand to India) ले दुई देश बीचको दौत्य सम्बन्ध निकै प्रगाढ रहेको र आर्थिक सम्बन्ध पनि मजवुद हुंदै गएको प्रसंग राख्दै आर्थिक व्यावसायिक सम्बन्धलाई थप मजवुद बनाउने कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउने आश्वासन दिनु भयो ।
काठमाडौंमा छिट्टै आयोजना हुन गैरहेको थाइल्याण्डको एकल देशीय मेला (Thailand Single Country Fair-2013) मा महासंघको सहयोग र सहभागिताका लागि आग्रह गर्नुभयो । आफ्नो देशले ओडोपमा हासिल गरेको सफलता तथा नविनतम प्रविधि नेपाली ओडोप अभियानमा पनि आदान प्रदानमा सक्दो सहयोग गर्ने विश्वास दिलाउनु भयो । साथै उहांले लुम्विनीको विकास तथा प्रचार प्रसार एवं महासंघले अर्को वर्ष आयोजना गर्ने अन्तराष्ट्रिय व्यापार मेलामा आफ्नो देशको सक्रिय सहभागिता रहने आश्वास दिनु भयो ।