नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष आत्माराम मुरारकाको ७२ को वर्षको उमेरमा आज विहान ९:३० बजे निधन भएको छ । पूर्व उपाध्यक्ष मुरारकाको पार्थिव शरिरमाथि पशुपति आर्यघाटमा महासंघका अध्यक्ष सुरज वैद्यले महासंघको झण्डा ओढाई आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
स्व. मुरारका महासंघका उपाध्यक्ष पशुपति मुरारकाका बुबा हुनुहुन्छ । स्वाशप्रश्वास, मुटु तथा उच्च रक्तचापबाट पिडीत महासंघका पूर्व उपाध्यक्ष मुरारका विगत केही दिनदेखि नर्भिक अस्पतालमा उपचार गराइरहनु भएको थियो ।
अन्तिम श्रद्धाञ्जली कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु, महासंघका उपाध्यक्षहरु, पूर्व पदाधिकारीहरु, महासंघको कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरु, महासंघ सचिवालयका कर्मचारीहरुले पूर्व उपाध्यक्ष स्व. मुरारका प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
स्व. मुरारकाले वि.सं. २०३५ देखि ३८ र वि.सं. २०४७ देखि ५० सम्म दुई अवधि नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य र वि.सं. २०५४ देखि २०५६ को अवधिमा महासंघको उपाध्यक्ष हुनुहुन्थ्यो ।
नेपाल उद्योग वाणिज्य महासंघलाई आजको अवस्थासम्म ल्याई पुर्याउन मुरारकाको महत्वपूर्ण योगदान रहेको छ । मुलुकभित्र विविध क्षेत्र जस्तो रंगरोगन उत्पादन, स्टील, सिमेन्ट, वनस्पति घयू तेल, आइरन रड, जीआई वायर, जलविद्युत तथा बैंक स्थापना गरी आर्थिक विस्तार एवं मुलुकको समग्र आर्थिक विकासमा उहांको निकै ठूलो योगदान रहेको छ ।
स्व. मुरारका अत्यन्त मिलनशार, हक्की स्वभावका र निजी क्षेत्रका एक हस्ती मानिनुहुन्थ्यो । नेपाल उद्योग वाणिज्य महासंघ परिवार यस दु:खद घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । स्व. मुरारकाका श्रीमती, दुई छोरा तथा तीन छोरी हुनुहुन्छ ।