भोलीदेखि असोज ६ गतेसम्म बेल्जियमको जेन्ट (Gent) मा एकान्टा अन्तराष्ट्रिय व्यापार मेला (Accenta International Trade Fair-2013) आयोजना हुंदैछ । यस वर्ष उक्त मेलामा नेपाललाई न्गभकत या ज्यलयगच को रुपमा निमन्त्रणा गरिएको छ ।
मेलामा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा महासंघको व्यवसायिक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।
उक्त मेलामा अर्थमन्त्री माननीय शंकरप्रसाद कोइरालाले Guest of Honour को रुपमा भाग लिंदै हुनुहुन्छ । उक्त व्यापार मेलामा नेपाल पेभिलियन निर्माण गरी नेपालको कला, संस्कृति, निकासीयोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी गरिने छ ।
महासंघको ब्राण्डिङ तथा आयश्रोत परिचालन समितिका सहसभापति विकासरत्न धाख्वा, महासंघका सहायक निर्देशक विष्णुराज ढकाल सहित करिव दुई दर्जन नेपाली व्यवसायीहरुले मेलामा भाग लिंदैछन् । ३ सय पचासभन्दा बढी अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहने उक्त मेलामा नेपालबाट ३० वटा स्टल रहने छ । मेलामा नेपाली हस्तकलाका वस्तुहरुको विशेष प्रदर्शनी गरिने छ ।
मेलाका क्रममा विभिन्न देशका सहभागी उद्यमी व्यवसायीहरुसंग हुने भेटघाट, छलफल तथा व्यावसायिक सूचनाको आदान प्रदानबाट नेपाल र ती देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास महासंघले गरेको छ ।