नेपाल उद्योग वाणिज्य महासंघको मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको दोश्रो अधिवेशन धादिङ जिल्लाको सदरमुकाम धादिङवेसीमा आज सम्पन्न भयो । महासंघका अध्यक्ष सुरज वैद्यको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा यस क्षेत्रका २२ वटा उद्योग वाणिज्य संघहरुको सहभागिता रहेको थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कारराज राजकर्णिकार विशेष अतिथि रहनु भएको सो भेलाको सभापतित्व मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुव वहादुर थापाले गर्नु भएको थियो । अधिवेशन समारोहमा महासंघको कार्यकारिणी समिति सदस्यहरु निर्मलकुमार चौधरी, मिनबहादुर श्रेष्ठ, मदनलाल जोशी, विष्णुबहादुर खत्री पनि सहभागी हुनुहुन्थ्यो ।
संघको दोश्रो भेलाले मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा संघको आगामी नेतृत्व समेत चयन गरेको छ । आज निर्वाचित संघको नयां कार्य समितिको उपाध्यक्षमा दिलबहादुर श्रेष्ठ (जलेश्वर उद्योग वाणिज्य संघ), महासचिवमा राजेशकुमार श्रेष्ठ (सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ), सदस्यहरुमा राजन श्रेष्ठ (नुवाकोट उवासंघ), विनेशकुमार श्रेष्ठ (सिन्धुली उवासंघ), राजकुमार साह (वारा उवासंघ), विदूरप्रसाद पराजुली (सिन्धुपाल्चोक उवासंघ), गोविन्दकुमार श्रेष्ठ (धादिङ उवासंघ) र खडगबहादुर तामाङ (रौतहट उवासंघ) चयन हुनु भएको छ ।
स्मरणहोस: नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष स्वत: महासंघको कार्यकारिणी समिति सदस्य हुने प्रावधान छ ।
संघको दोश्रो अधिवेशनमा मध्यमाञ्चल क्षेत्रभित्रका उद्योग वाणिज्य संघहरुले व्यहोर्नु परेका कर राजश्व लगायतका समस्या, निजी क्षेत्रले भोग्नु परेका चुनौती, यस क्षेत्रमा अगाडी बढाइएका योजना तथा कार्यक्रम एवं सम्भाव्यताका विषयमा वृहद रुपमा छलफल समेत भयो ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष दिलसुन्दर श्रेष्ठलाई महासंघको विधान अनुसार आज महासंघको कार्यकारिणी समिति सदस्यमा मनोनित गर्नु भएको छ ।