नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपालका लागि नवनियुक्त भारतीय राजदूत रंजित (H.E. Mr. Ranjit Rae, Ambassador of India to Nepal) संग आज महासंघ सचिवालयमा आयोजित द्विपक्षीय भेटवार्ता सम्पन्न भयो ।
महासंघका अध्यक्ष सुरज वैद्य, महासंघका पूर्व अध्यक्ष एवं एफएनसीसीआई–सीआईआई संयुक्त आर्थिक परिषद्का सहअध्यक्ष पद्य ज्योति, पूर्व अध्यक्ष आनन्दराज मुल्मी, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष पशुपति मुरारका, कार्यकारिणी समितिका सदस्यहरु, भारतीय राजदुतावसकी प्रथम सचिव(वाणिज्य) अंजु रंजन, नेपालमा लगानी गरिरहेका भारतीय उद्योग प्रतिष्ठानका प्रतिनिधिहरु र नेपाली उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको सो अवसरमा नेपालको आर्थिक विकासमा थप भारतीय लगानीमा जोड दिइयो ।
भारतको बढ्दो उर्जा मागलाई पुरा गर्न संयुक्त लगानीमा नेपालमा यस क्षेत्रमा लगानी बढाउनु पर्ने र उर्जा निर्यात नै नेपाल र भारत बीचको व्यापार घाटा कम गर्ने एक मात्र उपाय हुन सक्ने बताइयो । अहिले पनि व्यापार घाटा सवैभन्दा चिन्ताको विषय रहेको सो अवसरमा बताइयो ।
सो अवसरमा नवनियुक्त राजदुत रेलाई महासंघमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले मुलुकभित्र उद्योग व्यवसाय मैत्री वातावरण निर्माण गरी लगानी आकर्षण तथा लगानीका अवसरहरु सृजना गर्न महासंघले दलहरुले तयार गर्ने चुनावी घोषणा पत्रमा समेट्नु पर्ने आर्थिक मुद्दाहरुका विषयमा प्रमुख राजनीतिक दलहरुमा सुझाव पेश गरेको र निजी क्षेत्रको आर्थिक सुझावहरुमा वाह्य लगानी आकर्षणका लागि राजनीतिक दलहरुको भूमिकाका विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउनु भयो ।
अध्यक्ष वैद्यले नेपालको आर्थिक विकासमा भारतीय लगानीको निकै ठूलो आवश्यकता रहेको वताउनु हुंदै नेपालमा थप लगानी आकर्षणका लागि नवनियुक्त राजदुतबाट सहयोगको अपेक्षा गर्नुभयो ।
द्विपक्षीय आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं प्रविधि आकर्षणका माध्यमबाट दुवै देशका जनतालाई लाभान्वित गराउन नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) को संयुक्त पहलमा गठित एफएनसीसीआई-सीआइआई संयुक्त आर्थिक परिषद (FNCCI-CII JEC) ले खेलेको प्रभावकारी भूमिकाका विषयमा पनि सो अवसरमा चर्चा गरियो ।
नवनियुक्त राजदुत रेले नेपालको आर्थिक विकासका सवै प्रकारको सहयोग गर्न आफ्नो देश तयार रहेको स्पष्ट पार्नुभयो । सरकार, निजी क्षेत्र तथा जनस्तरमा हामी बीच रहेको प्रगाढ सम्बन्ध नै सहकार्यको मजवुद जग भएको उल्लेख गर्दै उहांले पूर्वाधार, जलश्रोत लगायतका क्षेत्रमा थप भारतीय लगानी आकर्षणका लागि आफ्नो तर्फबाट पुरा सहयोग हुने विश्वास दिलाउनु भयो ।