दलहरुले संविधानसभाको अर्को निर्वाचनका लागि तयार गर्ने घोषणापत्रमा समेटिनु पर्ने आर्थिक मुद्दाहरुका विषयमा छलफल गर्न नेपाल उद्योग वाणिज्य महासंघद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल)संग आज महासंघ सचिवालयमा एक छलफल एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
महासंघका अध्यक्ष सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष पशुपति मुरारका, राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल)का अध्यक्ष कमल थापा र सो पार्टीका पदाधिकारीहरु तथा उद्यमी व्यवसायीहरु सहभागि रहनु भएको सो कार्यक्रममा महासंघका अध्यक्ष वैद्यले सो पार्टीका अध्यक्ष लगायत पदाधिकारीहरुलाई स्वागत गर्नुहुंदै दलहरुले तयार गर्ने घोषणापत्रमा उठान गर्नुपर्ने न्यूनतम आर्थिक एजेण्डामा सामान धारणा तय गर्न सहज होस भन्ने उद्देश्यले महासंघले सवै राजनीतिक दलहरु समक्ष यस प्रकारको कार्यक्रमको आयोजना गरि निजी क्षेत्रको सुझाव पेश गरेको स्पष्ट पार्नु भयो ।
अध्यक्ष वैद्यले राजनीतिक निकास पश्चात मात्र आर्थिक विकास भन्ने भावनालाई त्यागेर आर्थिक मुद्दाहरुलाई प्रमुख प्राथमिकतामा राखेर आफ्नो घोषणापत्र तयार गर्न पनि सो पार्टीलाई सुझाव दिनु भयो ।
उद्यमी व्यवसायीहरुलाई संवोधन गर्नुहुंदै राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल)का अध्यक्ष थापाले निजी क्षेत्रले उठाएका अधिकांश आर्थिक मुद्धाहरु आफ्नो पार्टीको घोषणापत्रमा समेटिएको स्पष्ट पार्दै उदार आर्थिक नीति आफ्नो पार्टीको पनि महत्वपूर्ण वैचारिक स्तम्भको भएको बताउनु भयो । समृद्धशाली नेपाल निर्माणका लागि "इकोनोमि फस्ट" भन्ने मान्यता दलको रहेको जानकारी गराउंदै अर्थतन्त्रको विकासका लागि आफूहरुसंग अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना रहेको सोको प्रतिनिधित्व दलको घोषणापत्रमा स्पष्ट रुपमा पाइने पनि वताउनु भयो । उहांले मुलुकको दीगो आर्थिक विकासका लागि निजी क्षेत्र, सरकार र जनता सम्मिलित "फोर पी" मोडलको वकालत समेत गर्नुभयो । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अगाडी सारेका हरेक कार्यक्रममा आफ्नो पार्टीको पूर्ण सहयोग रहने पनि निजी क्षेत्रलाई विश्वास दिलाउनु भयो ।
त्यसअघि स्वागत मन्तव्य राख्नु हुंदै महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले मुलुकको आर्थिक विकासका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी(नेपाल) आर्थिक अवधारणा स्पष्ट पार्न आग्रह गर्नुभयो । महासंघका उपाध्यक्ष मुरारकाले दलहरुले तयार गर्ने चुनावी घोषणापत्रमा महासंघले दिएका सुझावहरु समेटिनेमा आफूहरु विश्वस्त रहेको वताउनु भयो ।
स्मरणरहोस महासंघले यसअघि मुलुकका प्रमुख राजनीतिक दलहरुसंग यस प्रकारको अन्तरक्रिया आयोजना गरि आफ्नो सुझाव दिईसकेको छ ।