चीन सरकारको वाणिज्य मन्त्रालय अन्तर्गत ट्रेड डेभलपमेन्ट व्यूरो र नेपाल उद्योग वाणिज्य महासंघ बीच द्विपक्षीय व्यापार व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले हालै एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा महासंघका तर्फवाट वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र चीन सरकारका तर्फवाट त्याहास्थित वाणिज्य मन्त्रालय, ट्रेड डेभलेपमेन्ट व्यूरोका सह कार्यकारी निर्देशक झू झोडसिङ्गले हस्ताक्षर गर्नु भयो । आपसी सहमतिपत्रमा दुई देश बीच उद्योग व्यवसाय प्रवर्द्धन गर्न आ-आफ्नो देशका उद्यमी-व्यवसायीहरुको निम्ति मेला तथा प्रदशर्नी लगायतका प्रवर्द्धनात्मक कार्यक्रमहरुको आयोजना गर्ने, विभिन्न समयमा व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान तथा आर्थिक व्यवसायिक सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने उल्लेख छ । साथै महासंघले आगामी फागुनमा काठमाडौंमा आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा चीन पार्टनर कन्ट्री गेष्ट अफ अनरको रुपमा सहभागी हुने र महत्वपूर्ण उद्यमी व्यवसायीहरु सहितको व्यावसायिक प्रतिनिधिमण्डल नेपाल आउने समेत सहमति भएको छ । सहमतीपत्रमा हस्ताक्षर पश्चात महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकार र ट्रेड डेभलपमेन्ट व्यूरोका सह कार्यकारी निर्देशक झू झोडसिङ्गले आपसी सहमती आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा कोशेढुंगा हुने विश्वास प्रकट गर्दै सहमतीपत्रमा उल्लेखित वूंदाहरुलाई अक्षरश कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।
चीनको सरकारीस्तरमा प्रत्यक्ष रुपमा द्विपक्षीय आर्थिक व्यापारिक प्रवर्द्धनका लागि नेपाली निजी क्षेत्रसंग भएको योनै पहिलो सहमति हो । सहमती पश्चात महासंघको व्राण्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकारले आगामी दिनमा नेपालमा हुने मेला प्रदर्शनीहरुमा चीन सरकारको प्रत्यक्ष सहकार्यबाट तेस्रो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चिनियां पेभिलियन सहित भव्य हुने विश्वास व्यक्त गर्नु भयो ।
यसै बीच चीनको ग्वाङझाउका ४० जना उद्यमी व्यवसायीसम्मिलित ग्वाङझाउ प्रान्तको चीनिया व्यावसायिक परिषद् (सीसीपीआईटी) को एक व्यावसायिक प्रतिनिधिमण्डलले आगामी नोभेम्वर २१ तारिखका दिन नेपालको भ्रमण गर्ने तय भइसकेको छ । साथै महासंघको प्रतिनिधिमण्डलले सीसीपीआईटी सिचुवान, छेन्दूका पदाधिकारीहरुसंग भेटवार्ता समेत गरेको थियो ।
स्मरण रहोस, चीनमा नेपालको उद्योग व्यवसायको प्रवर्द्धन एवं नेपाल उद्योग वाणिज्य महासंघले आगामी फागुनमा काठमाडौंमा आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको निमन्त्रणा दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा महासंघको व्राण्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकार सहितको टोली यतिखेर चीनको व्यवसायिक भ्रमणमा रहेको छ ।