नेपाल उद्योग वाणिज्य महासंघद्वारा गैर आवासीय नेपाली संघको नवनिर्वाचित टिमको सम्मानमा आज महासंघ सचिवालयमा एक स्वागत कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा महासंघका अध्यक्ष सुरज वैद्यले संघका नवनिर्वाचित अध्यक्ष शेष घले, पदाधिकारी लगायत कार्य समिति सदस्यहरुलाई महासंघ सचिवालयमा स्वागत गर्नुभयो ।
सो अवसरमा महासंघका अध्यक्ष वैद्यले महासंघ र एनआरएन बीचको सामिप्यताको प्रशंग राख्दै आगामी दिनमा मुलुकभित्र रोजगारी सृजना, नेपाल र नेपाली वस्तुहरुको विदेशमा प्रवद्र्धन, स्थानीय क्षेत्रमा रोजगारी सृजना तथा स्थानीय जनताको आर्थिक जीवनस्तर सुधारका लागि महासंघले अगाडी बढाएका विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्दै जाने प्रस्ताव राख्नु भयो ।
महासंघका अध्यक्ष वैद्यले महासंघले निकट भविष्यमा काठमाडौंमा नेपाल इकोनोमिक समिट आयोजना गर्न लागेको र सो सम्मेलनमा नविन उर्जा, कृषिको औद्योगिकीकरण तथा पर्यटनका विषयमा अन्तराष्ट्रिय विज्ञहरुको समेत सहभागितामा छलफल हुने जानकारी गराउनु भयो । उहांले उक्त सम्मेलनको आयोजनामा एनआरएनको सहकार्य माथि जोड समेत दिनु भयो ।
सो अवसरमा एनआरएनका नवनिर्वाचित अध्यक्ष शेष घलेले महासंघका अध्यक्षले राख्नु भएका प्रस्तावहरुलाई आफूहरुले अत्यन्त महत्वका साथ लिएको र मुलुकभित्र आर्थिक विकासका विषयहरुमा महासंघसंग एकसाथ अगाडी बढ्ने विश्वास दिलाउनु भयो ।
कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरु, गैर आवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।