३३ राजनीतिक दलहरुद्वारा १० दिने आम हडताल र नेपाल बन्दको कार्यक्रम ल्याईएको भन्ने समाचारप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि समस्याको समाधान बन्द तथा हडताल जस्ता कार्यक्रमहरुबाट हुन सक्दैन भन्ने मान्यता राख्ने नेपाल उद्योग वाणिज्य महासंघ संधै नेपाल बन्द जस्ता कार्यक्रमहरुको विपक्षमा उभिदै आएको स्मरण गराउन चाहन्छ । बन्दका कार्यक्रमले दैनिक मजदूरीमा काम गर्ने मजदूरको जिविकोपार्जनको माध्यम हनन गर्दछ भने तरकारी खेती गरी दिनदिनै बजारमा तरकारी बेच्ने किसानको पसिना त्यसै खेर जान्छ । विरामीले औषधिमूलो पाउंदैनन भने विद्यार्थीहरु विद्या आर्जनबाट बञ्चित हुन्छन् । यस्ता कार्यक्रमले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्ने नैसर्गिक मानव अधिकारको हनन मात्र हुने नभई कतिपयको जिविकोपार्जनमा नै गम्भीर नकारात्मक असर पार्दछ । एक दिनको नेपाल बन्दले अर्थतन्त्रमा २ अरव रुपैयां भन्दा बढीको क्षति हुने आंकलन हाम्रो छ ।
लोकतान्त्रिक व्यवस्थाको सबभन्दा राम्रो पक्ष वालिग मताधिकारबाट सम्पन्न हुने निर्वाचन हो र नेपालमा निर्वाचन हुन लागेकोमा उद्योगी व्यवसायी लगायत आम नेपाली ज्यादैनै हर्षित छौं । तर राजनीतिक दल र तीनका नेताहरुमा कुरा मिल्न नसक्दा पुन बन्द र हिंसाको संस्कृति मौलाउन थालेको शंका उत्पन्न भएको छ । नेपालका राजनीतिक दल र तीनका नेताहरुले जनताको चाहना बुझन नसकेको र जनतालाई चेपुवामा पार्न खोजेको प्रष्ट हुन्छ ।
विभिन्न कारणले नेपाल आर्थिक रुपमा अझ पछि पर्दै आएको र नेपाल अन्तर्राष्ट्रिय रुपमानै अप्रतिस्पर्धी अर्थतन्त्र बन्दै गएको विभिन्न तथ्याङ्कहरुले पुष्टि गर्दछन् । यति हुंदाहुदै पनि नेपालको अर्थतन्त्रलाई उन्नति र प्रगतिको पथमा लैजान र नेपाललाई लगानीको आकर्षक थलो बनाउनका लागि यस महासंघले भरमग्दुर प्रयास गर्दै आएको सर्वविदितै छ । हामीले आफ्नो संकिर्ण वर्गिय स्वार्थ माथि उठेर नेपालकै उन्नति र प्रगतिका लागि पहल गर्दै आएका छौं ।
अहिलेको चरम प्रतिस्पर्धाको यूगमा नेपाल अझ पछि पर्ने हो भने उक्सन नै नसक्ने गरी अर्थतन्त्र भांसिने खतरा बढेको छ । ठूलो मात्रामा पूंजी बाहिरिने र अहिलेनै रोजगारीको अवसर नभएका कारण विदेशमा अति निम्नस्तरको काम गर्न जान बाध्य नेपालीहरुका लागि कुनै विकल्पनै नरहने निश्चित छ । यस्तो कहाली लाग्दो परिस्थितिमा मुलुकलाई नधकेल्न र सार्थक वार्ताद्वारा आन्दोलरत पक्षका मुद्दाहरुको यथोचित राजनीतिक संवोधन हुने गरी समस्या समाधान गर्न हामी सरकार तथा जिम्मेवार राजनीतिक दलहरु लगायत सबैमा हार्दिक आग्रह गर्दछौं । साथै बन्दकर्तासंग नेपाल बन्द र आम हडताल जस्ता कार्यक्रम फिर्ता लिई मुलुकलाई अझ ठूलो धरापमा नधकेल्न नेउवामहासंघ गम्भीर आग्रह गर्दछ ।