वर्तमान राजनीतिक गतिरोधलाई निजी क्षेत्रबाट समन्वय गर्न नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको संयोजकत्वमा गठित शान्ति, संवाद समन्वय समितिको आज महासंघ सचिवायलयमा बसेको आकस्मिक बैठक देहायको निर्णय गदै सम्पन्न भएको छ ।
बैठकमा समितिका सदस्यहरु महासंघको स्थायी समिति सदस्यहरु, प्याव्सन, एन प्याव्सन, होटल संघ नेपाल, रेष्टुंरेन्ट तथा वार एसोसिएसन, राष्ट्रिय व्यवसायिक पहल(एनवीआइ), घरेलु तथा साना उद्योग महासंघ, नाटा, लगायतका महासंघका वस्तुगत सदस्य संघ संस्थाका पदाधिकारीहरुको प्रतिनिधित्व रहेको थियो ।
निर्णयहरु:
क. बन्द तथा चक्काजामका सम्वन्धमा निजी क्षेत्रका धारणा एवं कार्यक्रम सार्वजनिक गर्न आज सांझ दरवारमार्ग शालिक अगाडी खुल्ला पत्रकार सम्मेलनको आयोजना गर्ने,
ख. भोली मिति २०७० कार्तिक २७ गते वुधवार उपत्यकाका प्रमुख नाकाहरु कोटेश्वर, थानकोट, सातदोवाटो, वुढानिलकण्ठ, सितापाइला, भक्तपुर, मंगलवजार, वालाजु लगायतका नाकाहरुबाट सवारी साधनहरु हुनेहरुले आआफ्ना सवारी साधनहरु सहित र नहुनेहरुले पैदलै उपस्थित भई विहान १०:०० बजे टुडिखेलमा आयोजना हुने सवारी र्यालीमा सहभागी हुन अनुरोध गर्ने,
ग.आमहड्ताल तथा चक्काजामबाट भएको क्षतिको तत्काल क्षतिपूर्ति तथा राजमार्ग लगायत प्रमुख सडकहरुमा आआफ्ना सवारी साधनहरु निर्धक्क चलाउन सक्ने वातावरण बनाउन सरकारसंग अनुरोध गर्ने,
घ. आम हड्ताल तथा चक्काजाम आव्हान गर्ने नेतृत्व लिएको नेपाल कम्युनिष्ट पार्टी–माओवादीलाई आजै सांझ पुन: एक पटक भेटी बन्द आयोजना फिर्ता लिन आग्रह गर्ने ,
ङ. महासंघका सवै जिल्ला उद्योग वाणिज्य संघहरुलाई आआफ्नो जिल्लामा बन्द खुलाउन सम्बन्धित निकायमा दवाव दिन यस्तै प्रकारका दवावमुलक कार्यक्रम आयोजना गर्न अनुरोध गर्ने ।
यस सम्बन्धमा महासंघद्वारा आजै सांझ दरवार मार्गको खुल्ला स्थानमा पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।
पत्रकार सम्मेलनलाई महासंघका अध्यक्ष सुरज वैद्यले संवोधन गर्नुहुंदै निजी क्षेत्रले जुनसुकै वन्दको विरोध गर्दै आएको र मुलुकलाईनै गम्भीर संकटतर्फ धकेल्ने यस्ता कार्यक्रम सधैका लागि अन्त्य हुनु पर्ने माग गर्नुभयो । अध्यक्ष वैद्यले ३३ दलको आव्हानमा भएको बन्द चक्काजाम कार्यक्रम तत्काल फिर्ता लिन समेत आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, रेवानका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ, हिसानका अध्यक्ष उमेशलाल श्रेष्ठ, प्याव्सनका अध्यक्ष डा. बाबुराम पोखरेल, एनप्याव्सनका अध्यक्ष गिता राणाले बन्द चक्काजाम लगायतका कार्यक्रमले उद्योग व्यवसाय, पर्यटन, शिक्षा क्षेत्र सहित समग्र अर्थतन्त्रलाई चौपट पार्ने हुंदा यस्ता कार्यक्रम नेपाली जनताका लागि सह्य नहुने बताउनु भयो । साथै उहांहरुले भोली टुंडीखेलमा आयोजना हुने सवारी र्यालीमा सहभागी हुन समेत सवैलाई आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा संचार माध्यमहरु, उद्यमी व्यवसायीहरु सहितको ठूलो मात्रामा उपस्थिति थियो ।