नेपाल सरकार गुणस्तर तथा नापतौल विभाग र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त प्रयासमा जर्मन सरकारको सहयोगमा सार्कस्तरीय अन्तराष्ट्रिय प्रमाणीकरण (एक्रिडिएशन) सम्बन्धी पांच दिने कार्यक्रम आयोजना हुने भएको छ ।
सो सम्बन्धमा जानकारी गराउने उद्देश्यले महासंघको सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा माघ ६ गते दक्षिण एशियाली सहयोग संगठनका सदस्य राष्ट्रहरुका गुणस्तर सम्बन्धी विज्ञहरुको दोश्रो बैठक काभ्रेको धुलिखेलमा, अन्तराष्ट्रिय प्रमाणीकरणका विषयमा आम सर्वसाधारण जनतालाई सुसुचित गराउन सो सम्बन्धमा माघ ८ गते काठमाडौंमा सचेतना कार्यक्रम (Awerness Program on Accrediation), माघ ९ र १० गते National Accrediation Focal Point सम्बन्धी कार्यक्रम आयोजना हुने जानकारी गराइयो । कार्यक्रममा सार्क क्षेत्रका गुणस्तर सम्बन्धी क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सहभागिता रहने छ ।
अन्तराष्ट्रिय प्रमाणीकरणले परिक्षण, मापांकन, निरीक्षण र प्रमाणीकरणको नतिजालाई विश्वसनीय वनाउनुका साथै क्षेत्रीय र अन्तराष्ट्रियस्तरमा समेत मान्यता प्रदान गर्नुका साथै विश्व व्यापार संगठनले व्यापार सहजीकरण गर्ने सम्बन्धी लिएका अवधारणा अनुरुप व्यापारमा प्राविधिक अवरोधलाई समेत न्यूनिकरण गर्नमा टेवा पुर्याउने कुरा पत्रकार सम्मेलनमा महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले बताउनु भयो । उहांले यस प्रकारको कार्यक्रमबाट नेपाली वस्तुहरुको गुणस्तर प्रवद्र्धन, उत्पादन विस्तार तथा अन्तराष्ट्रिय वजार प्रवद्र्धनमा समेत सहयोग पुग्ने र सार्कस्तरीय यो कार्यक्रमले छिमेकी राष्ट्रहरुको अनुभव आदान प्रदानबाट लाभ लिन सकिने बताउनु भयो ।
पत्रकार सम्मेलनमा नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक राम आधार साहले हाल नेपालमा अन्तराष्ट्रिय प्रमाणीकरण संस्था नरहेको हुंदा प्रमाणीकरणको कामलाई एक राष्ट्रिय प्रमाणीकरण इकाइ (National Accrediation Focal Point-NAFP) को माध्यमबाट सहजीकरण गर्ने अवधारणा स्वरुप हाल बन्ने क्रममा रहेको प्रमाणीकरण सम्बन्धी इकाई (Accrediation Focal Point) बाट स्वदेशी उत्पादनको गुणस्तर निरीक्षण, परिक्षण तथा प्रमाणीकरणको नतिजालाई अन्तराष्ट्रिय मान्यता प्राप्त गरी विश्व बजारमा नेपाली वस्तुको निर्यात व्यापारलाई प्रवद्र्धन गर्नमा मद्दत पुर्याउने कार्यक्रमको उद्देश्य रहेको स्पष्ट पार्नु भयो ।
पत्रकार सम्मेलनमा जर्मन संस्था पीटीवीका जुलिया माइकिङनफ (Ms. Julia Mickinghoff, PTB) ले नेपाल सरकार तथा निजी क्षेत्रसंग अन्तराष्ट्रिय गुणस्तर प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै यसबाट नेपाली वस्तुहरुको अन्तराष्ट्रिय वजार प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास प्रकट गर्नुभयो ।