नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भृकुटीमण्डपमा संचालन भैरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला - २०१४ (Nepal International Trade Fair-2014) को चौथो दिन आज मेला आयोजनास्थल भृकुटीमण्डपमा मेलामा भाग लिन आएका चिनियां व्यवसायी, वंगलादेशी व्यवसायी र नेपाली व्यवसायीहरु बीच व्यावसायिक भेटवार्ता (बीटूबी) सम्पन्न भयो ।
सो अवसरमा नेपाली उत्पादन इनरिचर हर्वल प्रोडक्ट बंगलादेशमा विक्रीवितरण गर्ने सम्बन्धमा नेपाली कम्पनी कस्मोवल्र्ड इण्डष्ट्रिज र वंगलादेशी कम्पनी सार्क ट्रेडिङ एण्ड मार्केटिङ इन्टरनेशनल बीच सम्झौता समेत भएको छ । सम्झौतापत्रमा इनरिचका तर्फबाट धिरेन्द्र खड्का र सार्क ट्रेडिङ एण्ड मार्केटिङ इन्टरनेशनलका तर्फबाट सदिकर खानले सहमती जनाउनु भयो ।
सो अवसरमा भएको छलफलमा चिनियां पक्षबाट नेपालमा व्यावसायिक कृषि र जलविद्युतमा लगानी सहित व्यावसायिक विस्तारमा आफूहरु इच्छुक रहेको धारणा आएको थियो ।
मेलाको आज मेघा बैंकका सिइओ अनिल शाहले अवलोकन गर्नुभयो । आज पनि मेलामा दर्शकहरुको चाप निकै उच्च रहेको छ । मेलामा करिव ५० हजार दर्शकले अवलोकन गरेका छन् । मेला भोली फागुन २६ गतेसम्म चल्ने छ ।
सम्माननीय राष्ट्रपति डा. यादवको प्रमुख आतिथ्यतामा विहीवार समुद्घाटन भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१४ नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना भएको हो ।
अन्तराष्ट्रिय व्यापार मेलामा २ सय ८० वटा स्टल मार्फत वस्तु तथा सेवाको प्रदर्शनी भएको छ । मेलामा भारत, चीन, वंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायतका देशका कम्पनी तथा चीन, जापान, थाइल्याण्ड लगायतका खरिदकर्ताहरुले मेला अवलोकन गर्ने कार्यक्रम छ । मेलामा स्वदेशी १ सय ७५, वंगलादेश ५४ वटा, चीन २१, पाकिस्तान २०, भारत ५, थाइल्याण्ड १, ठुला उद्योग प्रतिष्ठानका ४ वटा वटा स्टलहरु रहेका छन् । मेलामा चीनको व्यापार विकास व्यूराका उपमहानिर्देशक चु च्वाङ चुको नेतृत्वमा चिनियां व्यवसायिक प्रतिनिधिमण्डलले भाग लिइरहेको छ भने वंगलादेशको वंगला क्राफ्टका अध्यक्ष एसयू हैदरको नेतृत्वमा व्यवसायीहरुले भाग लिइरहेका छन् ।
मेलामा नेपाल कक्षमा एनटीआइएसका १९ वटा वस्तुहरुको विशेष प्रर्वद्धन गरिएको छ भने तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने कार्य भैरहेको छ । मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल समेत भैरहेको छ ।
महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहेका छन भने महासंघका सदस्यहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभुषण संघको मेलामा सहभागिता रहेका छन् । मेलाको अफिसियल एयरलायन्समा इत्देहाद एयरलाइन्स, प्रायोजकमा पानीपोखरी हाइट्स, अफिसियल कार्गोमा गणेश एयर कार्गो, प्रवद्र्धकमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र सर्पोटिङ कर्पोरेट हाउसमा नेपाल टेलिकम, राकुरा, डवल ए, राज एडभरटाइजिङ, सान फर्निचर र पाकिस्तानको म्याव एक्सपोर्ट, वंगलादेशको सार्क ट्रेडिङ एण्ड मार्केटिङ इन्टरनेशन, अफिसियल इन्टरनेट प्रोभाइडरमा वल्र्ड लिंक, इभेन्ट म्यानेज एक्सो एण्ड इभेन्ट, र डीइसीसी रहेका छन् ।