प्रधानमन्त्री सुशिल कोइरालासंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ता गर्यो । सो अवसरमा महासंघका अध्यक्ष वैद्यले प्रधानमन्त्री समक्ष निर्धारित समयभित्रै संविधान निर्माण गरि मुलुकलाई आार्थिक विकासको मार्गमा लैजान आग्रह गर्नुभयो ।
अध्यक्ष वैद्यले मुलुकभित्र उद्योग व्यवसायको विस्तार गरि रोजगारी सृजनाका माध्यमबाट नेपाली यूवाहरुलाई स्वेदशभित्रै काम गर्ने वातावरण वनाउन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो । उहांले यसका लागि उद्योग व्यवसायसंग प्रत्यक्ष गांसिएका केही ऐन कानूनहरुलाई संसद मार्फत छिटो पारित गर्न समेत जोड दिनु भयो । रोजगारदाता र ट्रेड युनियन बीच धेरै कुराहरुमा सहमती भएकाले श्रम लचकता सहितको नयां श्रम ऐनलाई जतिसक्दो छिटो पारित गर्नुपर्ने आवश्यकता औल्याउदै यसबाट मुलुकभित्र लगानी आकर्षणमा सहयोग पुग्ने बताउनु भयो । वर्तमान सरकारको नेतृत्व गरेका दलहरु नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले घोषणापत्रमा उल्लेख गरेका कुराहरुलाई कार्यान्वयन गर्ने तर्फ निजी क्षेत्र विश्वस्त रहेको पनि बताउनु भयो । अध्यक्ष वैद्यले मुलुकको निर्यात व्यापारलाई १ सय अर्व पुऱ्याउने लक्ष्यका साथ काम गर्न एक विशेषज्ञ समूह बनाएर जान पनि सल्लाह दिनु भयो ।
सो अवसरमा महासंघका अध्यक्ष वैद्यले प्रधानमन्त्री कोइरालालाई नेपाल सरकार र महासंघको संयुक्त आयोजनामा काठमाडौमा चैत्र ९ गतेदेखि शुरु हुन लागेको Nepal Business Conclave-2014 को प्रमुख आतिथ्यताको निमन्त्रणा समेत दिनु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्ष पशुपति मुरारका र कार्यकारिणी समिति सदस्यहरु सम्मिलित महासंघको प्रतिनिधिमण्डलले सो अवसरमा शान्ति सुरक्षा, समयमै संविधान निर्माण, कृषि विकासका लागि विशेष सहुलियत सहितको कार्यक्रम, आर्थिक विकाससंग सम्बन्धित ऐनहरुलाई जतिसक्दो छिटो पारित गर्नुपर्ने, अर्थ मन्त्रालयलाई पूर्ववत रुपमै राजश्व र विकास हेर्ने गरि दुई भागमा वर्गिकृत गर्नुपर्ने, उद्योग व्यवसायका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्ने लगायतका सुझावहरु दिएको थियो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले निजी क्षेत्रका सल्लाह एवं सुझावहरुलाई मनन गरी सरकारले आफ्ना नीति तथा कार्यक्रम मार्फत संवोधन गर्ने स्पष्ट पार्दै निर्धारित समयभित्रै संविधान निर्माण गरि मुलुकभित्र शान्ति स्थायित्व र आर्थिक विकासमा आफू र आफ्नो सरकारको पूर्ण ध्यान जाने समेत वताउनु भयो । उहांले निजी क्षेत्रलाई कुनै समस्या आइपरेमा आफुसंग सिधासम्पर्क राख्न पनि आग्रह गर्नुभयो ।