नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा निर्माण गरिएको सभा कक्ष (अडिटोरियम)को प्रमुख अतिथि अर्थमन्त्री डा. रामशरण महतले आज एक कार्यक्रम बीच उद्घाटन गर्नुभयो ।
वर्तमान कार्यकारिणी समितिको कार्यकालमा महासंघको सचिवालय भवनमा चौथो तला थप गरिनुका साथै सुविधा सम्पन्न एक सभाकक्ष (अडिटोरियम) र बैठक हल निर्माण गरिएको छ । नवनिर्मित अडिटोरियम हल १ सय ५० जनासम्म अटाउन सक्ने आधुनिक एवं सुविधा सम्पन्न छ ।
त्यसैगरि प्रमुख अतिथि अर्थमन्त्री डा. महतले महासंघ सचिवालयमा आजैबाट सदस्य संघहरुसंग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले संचालनमा ल्याएको भिडियो कन्फरेन्स सेवाको पनि सुभारम्भ गर्नुभयो । स्थानीय उद्यमी व्यवसायीसंग प्रत्यक्ष सम्पर्कमा रहेर उनीहरुका समस्या तथा गुनासाहरुलाई तत्काल केन्द्रीयतहबाट संवोधन गर्न महासंघले भिडियो कन्फरेन्स सेवा संचालनमा ल्याएको हो । महासंघले भिडियो कन्फरेन्स प्रविधि आफ्ना सदस्य संघहरुमा विस्तार गर्दै जाने सोंच बनाएको छ ।
सो अवसरमा अर्थमन्त्रीले महासंघ सचिवालयबाट महासंघका सदस्य मोरङ व्यापार संघ र वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरुसंग भिडिया कन्फरेन्सका माध्यमबाट प्रत्यक्ष कुराकानी गर्नुभयो । सो अवसरमा दुवै संघका पदाधिकारीहरुले सम्बन्धित क्षेत्रका उद्योगी व्यवसायीका समस्या एवं चुनौतीहरुका विषयमा अर्थमन्त्री समक्ष कुराकानी गर्नुभयो ।
महासंघका अध्यक्ष सुरज वैद्यको सभापतित्वमा आयोजित कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि अर्थमन्त्री डा. महतले महासंघ सचिवालयलाई आधुनिक र सुविधासम्पन्न बनाउने उद्देश्यले महासंघ सचिवालयभित्र निर्माण गरिएको सुविधासम्पन्न सभाकक्ष तथा भिडियो कन्फरेन्स सेवाको प्रारम्भले महासंघका सेवालाई अझ बढी चुस्त र प्रभावकारी पार्ने विश्वास प्रकट गर्नुभयो । उहांले निजी क्षेत्रको विकासमा यस्ता पूर्वाधारहरु कोशेढुंगा हुने बताउनु भयो । अर्थमन्त्रीले विकासको दर कसरी बढाउने र प्राप्त प्रतिफलको न्यायोचित वितरण कसरी गर्ने भन्नेनै अहिलेको प्रमुख चुनौती रहेको बताउनु भयो । सरकार लगानीको वातावरण वनाउन प्रतिवद्ध रहेको विश्वास दिलाउंदै अर्थमन्त्रीले निजी क्षेत्रलाई लगानी विस्तारका लागि आग्रह गर्नुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्र आर्थिक विकासको मार्गमा अगाडी बढी सकेको बताउंदै सरकारलाई लगानीमैत्री वातावरण निर्माणका लागि आग्रह गर्नुभयो ।
महासंघको तला थप कार्यको संयोजन गर्नुभएको महासंघको शहरी विकास फोरमका संयोजक एवं कार्यकारिणी समिति सदस्य ओम राजभण्डारीले चौथो तलमा थपिएका नयां सभाकक्ष, बैठक कक्षबाट धेरै जसो कार्यक्रमहरु सचिवालय भित्रै संचालन गर्ने आवश्यक पूर्वाधार तयार भएको बताउनु भयो । उहांले पूर्वाधार तयारीका क्रममा सहयोग गर्नुहुने सवैलाई धन्यवाद समेत दिनु भयो ।