नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं वार्षिक साधारण सभा आजबाट काठमाडौंमा शुरु भएको छ । महासंघको ४८ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस-२०७० का प्रमुख अतिथि एवं संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले आज एक विशेष समारोहका बीच काठमाडौंमा समुद्घाटन गर्नुभयो ।
समुद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि नेम्वाङले निर्धारित समयमै संविधान निर्माण कार्य सम्पन्न भई मुलुक आर्थिक विकासमा अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहांले उद्यमी व्यवसायी क्षेत्रबाट यस कार्यमा सहयोग प्राप्त हुने विश्वास दिलाउंदै प्रमुख अतिथि नेम्वाङले मुलुकको आर्थिक विकासका खातिर नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका एवं गतिविधिबाट आफू अत्यन्त उत्साहित भएको वताउनु भयो । महासंघको वार्षिक साधारण सभाबाट चुनिएर आउने नयां नेतृत्वले मुलुकको आर्थिक विकास एवं व्यवसायिक एकतामा अझ बढी सशक्त भूमिका निर्वाह गर्ने विश्वास प्रकट गर्नुभयो । उहांले महासंघको वार्षिक साधारण सभाको सफलताका लागि हार्दिक शुभकामना समेत दिनुभयो ।
त्यस अघि महासंघका अध्यक्ष सुरज वैद्यले स्वागत मन्तव्यका क्रममा भन्नु भयो:
हामी इतिहासकै अत्यन्त महत्वपूर्ण घडीमा छौं । हामीले हालैमात्र संविधानसभाको चुनाव सफलतापूर्वक सम्पन्न गऱ्यौं । लोकतन्त्रप्रति नेपाली जनताको आस्था एवं विश्वासलाई उच्च मुल्यांकन गर्दै निजी क्षेत्रले राष्ट्रिय निर्वाचनलाई सधैनै सम्मान गर्दै आएको छ । निजी क्षेत्रको धरोहर संस्था महासंघले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउने कार्यमा आफ्नो तर्फबाट सहयोग गरेको स्मरण गराउन चाहान्छु । महासंघले निर्वाचनको वेलामा केही राजनीतिक दलहरुले हड्ताल एवं चक्काजामको आह्वान गर्दा त्यसको विरुद्ध उभइ काठमाडौं लगायत मुलुकका विभिन्न भागमा शान्ति र्याली, सभाको आयोजना गर्यो ।
अध्यक्ष वैद्यले अगाडी भन्नु भयो - यतिखेर संविधानसभाको गठन भैसकेको छ । संविधान सभाको दुई तिहाई सदस्यको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको नयां सरकारको गठन तथा नयां सविधान निर्माणको कार्यतालिका सहितको घोषणाबाट निर्धारित समय भित्रै संविधान निर्माण हुने हाम्रो आशा छ । संविधान सभाको असफलताको नेपालले वहन गर्न सक्ने अवस्था छैन ।
हो निश्चयनै आजको समय अत्यन्त चुनौतीपूर्ण छ । नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशतको भन्दा तल छ । पूंजीगत खर्च विनियोजित रकमको जम्मा ३० प्रतिशतमात्र खर्च हुन सकेको छ । सरकारी राजश्वको करिव ४५ प्रतिशत हिस्सा आयातमा आधारित राजश्वबाट परिचालित छ । प्रत्येक दिन करिव १५ सय नेपाली यूवाहरु कामका लागि विदेशिएका छन भने दैनिक ३ वटा लास नेपाल भित्रिने गरेका छन् । दैनिक १२ घण्टाको लोडसेडिंग मुलुकले थेग्नु परेको छ । उद्योगहरु करिव ४० प्रतिशत क्षमतामा संचालित छन् - अध्यक्ष मन्तव्यको उल्लेख छ ।
अध्यक्ष वैद्यले अगाडी भन्नु भयो-हामी संकटबाट गुज्रिएका छौ तर हामी अझ वलिया भएर निस्किएका छौं । यो वल नेपाल र उद्योग वाणिज्य महासंघमा विश्वास गर्नेहरुबाट आएको हो । कुनै सम्भावना नभएको वेलामा पनि सम्भावना तरास्यौं । सृजना गर्ने, संघर्ष गर्ने र सफल हुनेहरु मध्ये यसै हलमा हुनुहुन्छ । आफ्नो सृजनात्मक प्रतिभा देखाउने, स्वतन्त्र र न्यायपूर्वक बांच्ने, परिश्रम इमान्दारिता, नैतिकता जस्ता मुल्य मान्यताहरुलाई अंगिकार गर्ने, आफूमा विश्वास गर्ने, परिवर्तनका सम्वाहक हुने, गरिखाने र दिने अरुको पिरमर्का वुझ्ने, प्रगति गर्ने र खुशीले वांच्ने यूवाहरु भएको मुलुकनै मेरो सपनाको नेपाल हो ।
अध्यक्ष वैद्यको मन्तव्यमा भनिएको छ
साझा न्यूनतम आर्थिक एजेण्डालाई प्राथमिकतामा राखेका थियौं । सरकार, राजनीतिक दल, विकासका साझेदार सबैसंगको सल्लाहमा एउटा दस्तावेज तयार पार्यौं र त्यो दस्तावेज विभिन्न राजनीतिक दलहरुलाई विधिवत हस्तान्तरण पनि गर्यौं । हाम्रा प्रमुख राजनीतिक दलहरुले आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न थालेका छन् । हामीले तयार पारेको साझा न्यूनतम आर्थिक एजेण्डाका मुख्य बुंदाहरु दलहरुले संविधान सभा निर्वाचनका लागि तयार गरेका घोषणा पत्रमा पनि परे । आर्थिक मुद्दाहरुले दलको कार्यमा अझ बढी प्राथमिकता पाउने अपेक्षा गरेका छौं ।
रोजगारीका अवसरको सिर्जनालाई केन्द्र विन्दूमा राखेर हामीले नेपाली अर्थतन्त्रको पांच क्षेत्र: कृषि, उर्जा, पूर्वाधार, सेवा उद्योग, खनिज र खानीमा आधारित उद्योगलाई विकासको आधारका रुपमा अघि साऱ्यौं ।
उर्जा विकासको क्षेत्रलाई महासंघले प्राथमिकतामा राखि आफ्ना कार्यक्रमहरु सोही अनुसार तय गर्दै गयो । हाम्रो विशेष ध्यान उर्जामा गएको हो । हामीले उर्जालाई महत्वपूर्ण लगानीयोग्य क्षेत्रको रुपमा प्रवद्र्धन गर्नुका साथै मुलुकका प्रमुख राजनीतिक दलहरुको यस क्षेत्रको विकासमा प्रतिवद्धता समेत लियौं । जलश्रोतको विकास सम्बन्धमा प्रमुख राजनीतिक दलहरुलाई यही सभाहलमा साझा प्रतिबद्धतामा ल्याउन हामी सफल भयौं । महासंघको अनुरोध र पैरवीमा साना मझौला परियोजनाको पि.पि.ए. मा वृद्धि भएको छ । प्रशारण लाइनमा बजेट बढ्नुका साथै निर्माण क्रम शुरु भएको छ । यस क्षेत्रमा भएको लगानीलाई प्राथमिकता प्राप्त लगानीको मान्यता दिलाउन सफल भएका छौं । धैरै परियोजनाहरु शुरु भएका छन् ।
तर गर्नु पर्ने धेरै काम बांकी छ । अझैपनि विदेशी लगानीमा आउन लागेका ठूला परियोजनाहरुको पिडीए सम्झौता भएको छैन । जुनरुपमा प्रशारणलाइन निर्माण कार्य चल्नु पर्ने थियो त्यो हुन सकेको छ्रैन । अझै पनि जलासयमा आधारित विद्युत परियोजनाहरु आउन सकेका छैनन । हामी नेपाल सरकार समक्ष यी मुद्दाहरुलाई संवोधन गरि नेपाल लगानीका लागि खुला रहेको संदेश प्रवाह गर्न अनुरोध गर्दछौं ।
महासंघले जल शक्तिलाई मात्र हैन अन्य वैकल्पिक उर्जाको विकासलाई पनि महत्व दिएको छ । सौर्य, bio mass, वायु उर्जामा हामीले ध्यान पुऱ्याउनै पर्दछ । उर्जाको विकासका साथै उर्जाको समुचित उपयोगमा पनि ध्यान जानु जरुरी छ । मुलुकको आर्थिक विकासका लागि उर्जानै भरपर्दो श्रोत हो ।
लगानी प्रवद्र्धन:
अर्को महत्वपूर्ण मुद्दाको रुपमा मेरो नेतृत्वको कार्यकालमा लगानी प्रवद्र्धनलाई हामीले विशेष रुपमा उठान गऱ्यौ । लगानी प्रवद्र्धनका लागि महासंघले छिमेकी देशहरु भारत र चीनलाई विशेष केन्द्रमा राखेर अभियानहरु अगाडी बढायो । हालैका केही वर्षहरुमा लगानी आकर्षण गर्ने उद्देश्यले महासंघको नेतृत्वमा अमेरिका, रसिया, जापान, अष्ट्ेरलिया, फ्रान्स, इजिप्ट, मलेशिया, थाइल्याण्ड, भारत तथा चीन लगायतका देशहरुको भ्रमण सम्पन्न भयो । ती देशहरुको भ्रमण गरि नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु तथा लगानीको वातावरणका विषयमा विदेशी लगानीकर्ताहरुको ध्यानाकर्षण गराउने कार्य भयो ।
साथै स्वदेश भित्रै पनि लगानी प्रवद्र्धन गर्ने अभिप्रायले लगानी सम्वन्धमा क्षेत्रीय गोष्ठी चितवन, वुटवल, सुर्खेत, मेचीनगर र कंचनपुर लगायतका ठाउंहरुमा सम्पन्न भए भने सोही अवसरमा ती स्थानहरुमा व्यापार प्रर्वद्धनका लागि क्षेत्रीय मेला महोत्सव पनि सम्पन्न गरियो ।
महासंघकै सक्रियता तथा पहलमा नेपाल सरकारले सन् २०१२-१३ लाई लगानी वर्षको रुपमा घोषणा समेत गऱ्यो । तर दूर्भाग्यवस पटकपटक सरकार परिवर्तन तथा समयमा वजेट नआइदिंदा लगानी वर्ष अभियान योजना अनुसार अगाडी बढ्न सकेन । तर यसको सान्दर्भिकतामा दुईमत हुन सक्दैन । लगानी प्रवद्र्धनको अभियानमा भने महासंघ निरन्तर अगाडी बढ्ने प्रतिवद्धता जाहेर गर्दछ । लगानी वर्षका अवसरमा महासंघले जतिपनि महत्वपूर्ण कार्यक्रमहरु आयोजना गऱ्यो त्यसबाट लगानी प्रवद्र्धन गर्ने अभियानमा निकै ठूलो सहयोग पुऱ्याएको म यस गरिमामय समारोहमा स्पष्ट पार्दछु ।
नेपाल उद्योग वाणिज्य महासंघले सम्पन्न गरेको अर्को महत्वपूर्ण कार्यक्रम नेपाल आर्थिक शिखर सम्मेलन हो । नेपाल आर्थिक शिखर सम्मेलन आयोजनाको मुख्य उद्देश्य नीतिगत सुधारमाथि छलफल गरि नेपाललाई लगानी आकर्षणको थलोको रुपमा चिनाउनेनै थियो । नेपाल आर्थिक शिखर सम्मेलनमा यूएसआइडीका मुख्य प्रशासक डा. राजिव शाह र अन्य प्रवुद्ध व्यक्तित्वहरुको सहभागिताबाट महासंघको छवी अझ उच्च भएको छ । पहिलो सम्मेलनको अपार सफलतापछि अव यो कार्यक्रमलाई वार्षिक क्यालेण्डरको रुपमा प्रत्येक वर्ष आयोजना गर्न नेपाल सरकारबाट आएको प्रतिवद्धताले अझ हामीलाई थप उत्साहित बनाएको छ ।
शिखर सम्मेलनको लगत्तै आयोजना भएको Nepal Business Conclave-2014 लगानीकर्ता तथा सम्भाव्य लगानीकर्ताहरुलाई एकै थलोमा ल्याई सम्भावित परियोजनाहरु तथा लगानी प्रस्ताव उपर छलफल चलाउने उद्देश्यले आयोजना भएको थियो, अध्यक्षको मन्तव्यमा उल्लेख छ ।
समुद्घाटन समारोहको अन्त्यमा आफ्नो धन्यवाद मन्तव्य दिनु हुंदै महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्थाका रुपमा नेपाल उद्योग वाणिज्य महासंघको विशाल संघीय संरचना ९३ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरु, ९१ वटा वस्तुगत संघहरु, ६३५ वटा एसोसिएट र संघहरुको राष्ट्रिय क्षेत्रीय र विशिष्टिकृत क्षेत्रहरुको संजाल आफैमा एउटा सशक्त संगठनका रुपमा रहेको छ भन्नुभयो ।
वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले भन्नु भयो - सरकार पछिकै दोश्रो राष्ट्रव्यापी संजालका रुपमा परिभाषित महासंघको यो संरचनालाई कसैले चाहेर वा नचाहेर स्वीकार वा अस्विकार गर्न सक्दैन । जसले यस संस्थाको सृजना गऱ्यो उहांहरु प्रति आभार प्रकट गर्दै यो अत्यन्त र सशक्त संगठित संरचनाप्रति हामीले गर्व गर्नै पर्दछ । नेपाल उद्योग वाणिज्य महासंघको इतिहासका विभिन्न कालखण्डहरुमा आफ्नो पसिना वगाउने हाम्रा अग्रजहरु प्रति हामी नतमस्तक छौं । विशेष गरी महासंघको यो व्यवसायिकयात्राको विविध कालखण्डमा यस महासंघलाई नेतृत्व गर्ने हाम्रा श्रध्येय पूर्व अध्यक्षहरुप्रति हामी सधै श्रद्धाभाव व्यक्त गर्दै उहांहरुले अख्तियार गरेको मार्गप्रति हामी सदैव निर्देशित रहीरहने छौं ।
समुद्घाटन समारोहमा उद्योगमन्त्री कर्ण बहादुर थापा, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा, महासंघका पूर्व अध्यक्षहरु, कार्यकारिणी समितिका वर्तमान तथा पूर्व पदाधिकारीहरु, सभासद्हरु, राजदुतहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, उद्यमी व्यवसायीहरु, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।