नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित हुनु भएको छ । आज महासंघ सचिवालयमा भएको निर्वाचनमा उहां सो पदमा निर्वाचित हुनु भएको हो । महासंघको नवनिर्वाचित कार्यकारिणी समितिका सदस्यहरु मध्येबाट वरिष्ठ उपाध्यक्ष छान्ने व्यवस्था महासंघको विद्यमान विधानमा रहेको । सोही समारोहमा महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष मुरारकालाई पद तथा गोपनीयताको सपथ गराउनु भयो ।
आजै नवनिर्वाचित अध्यक्ष पाण्डेले महासंघको अध्यक्षको पदभार ग्रहण गर्नुभयो । त्यसलगत्तै महासंघ सचिवालयका कर्मचारीहरुलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले निजी क्षेत्रको एकता सहितको आर्थिक समृद्धिको नारालाई साकार पार्न सचिवालयको महत्वपूर्ण भूमिका हुने हुंदा सोही अनुसार सचिवालयबाट सहयोग हुने विश्वास प्रकट गर्नुभयो । उहांले कर्मचारीहरुले सधै संस्थाको गरिमा उच्च बनाउने र मुलुकको आर्थिक विकासको अभियानमा नेतृत्वले थालेका कार्यक्रमहरुलाई सफल पार्न सहयोग गर्ने धारणा समेत राख्नु भयो ।
सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्य, उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ, शेखर गोल्छा र कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।