सम्माननीय प्रधानमन्त्री सुशिल कोइराला समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको नेतृत्वमा गएको महासंघका पूर्वअध्यक्षहरु, पदाधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ता गऱ्यो ।
उक्त भेटवार्तामा महासंघका पूर्व अध्यक्षहरु प्रदिपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डिराज ढकाल र कुशकुमार जोशी, महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ र शेखर गोल्छा तथा कार्यकारिणी समिति सदस्यहरु सम्मिलित
हुनुहुन्थ्यो ।
सो अवसरमा महासंघका अध्यक्ष पाण्डेले प्रधानमन्त्री समक्ष निर्धारित समयभित्रै संविधान निर्माण गरि मुलुकलाई आर्थिक विकासको मार्गमा लैजान आग्रह गर्नुभयो । सम्पत्तिको अधिकार, स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न पाउने अधिकार जस्ता निजी क्षेत्रले उठाउंदै आएका मुद्दाहरुलाई नयां संविधानमा समेट्नु पर्नेमा अध्यक्ष पाण्डेले जोड दिनु भयो । महासंघका अध्यक्ष पाण्डेले मुलुकभित्र उद्योग व्यवसायको विस्तार गरि रोजगारी सृजनाका माध्यमबाट नेपाली यूवाहरुलाई स्वदेशभित्रै काम गर्ने वातावरण बनाउन पनि प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।
“उर्जा र उत्पादन सबै नेपालीको आव्हान” भन्ने नाराका साथ आउंदो तीनवर्षमा उर्जा तथा उत्पादनसिल क्षेत्रको विकासलाई आक्रामक ढंगबाट अगाडी बढाउनु पर्ने सुझाव दिनुहुंदै अध्यक्ष पाण्डेले अवको तीनवर्ष भित्र लोडसेडिङ अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो । महासंघका अध्यक्ष पाण्डेले काठमाडौ हेटौडा सुरुङमार्ग, बुढीगण्डकी, देवीघाट जलविद्युत आयोजना जस्ता राष्ट्रिय महत्वका योजनाहरुलाई अगाडी बढाउन समेत अनुरोध गर्नुभयो ।
अर्थतन्त्रसंग प्रत्यक्ष सम्बन्धित ऐनहरु जस्तै: बिशेष आर्थिक क्षेत्र ऐन, औद्योगिक व्यवसाय ऐन, Accreditation Act, कम्पनी ऐन, श्रम लचकता सहितको श्रम ऐन तत्काल ल्याउन पनि प्रधानमन्त्री समक्ष महासंघको प्रतिनिधिमण्डलले आग्रह गऱ्यो ।
सो अवसरमा भएको छलफलमा आर्थिक कुटनीतिलाई महत्वका साथ अगाडी बढाउनु पर्ने, मुलुकको आर्थिक विकासमा सरकारसंग हातेमालो गरिजान निजीक्षेत्र तयार रहेको, स्वदेशी वस्तुहरुको प्रयोग र उपभोग गर्ने सम्बन्धमा सरकारको नीति तथा कार्यक्रम प्रभावकारी ढंगले अगाडी बढाउनु पर्ने, राष्ट्रिय पूंजीलाई परिचालन गरि पूर्वाधार विकास गर्नुपर्ने लगायतका सुझावहरु उद्यमी व्यवसायीहरुबाट राखिएको थियो ।
सो अवसरमा निजी क्षेत्रको प्रतिनिधिसंस्था महासंघको प्रतिनिधिमण्डललाई संवोधन गर्नुहुंदै प्रधानमन्त्री कोइरालाले निर्धारित समयभित्रै संविधान जारी हुने र तत्पश्चात मुलुक आर्थिक विकासको मार्गतर्फ अगाडी बढ्ने विश्वास दिलाउनु भयो । प्रधानमन्त्री कोइरालाले मुलुक अव विस्तारै प्रगतिको मार्गतर्फ लाग्नेमा आश्वस्त पार्दै देशभित्र उद्यमशिलता प्रवद्र्धन, रोजगारी सृजना तथा स्वदेशी एवं विदेशी लगानी बढाउन महासंघसंग आग्रह समेत गर्नुभयो । साथै उहाले निर्धक्क भएर आफ्नो व्यापार व्यवसाय गर्न निजी क्षेत्रलाई आग्रह समेत गर्नुभयो । प्रधानमन्त्रीले निजी क्षेत्रको सल्लाह एवं सुझावहरुलाई मनन गरि सरकारले आफ्ना नीति तथा कार्यक्रम मार्फत संवोधन गर्ने पनि विश्वास दिलाउनु भयो ।