सर्वप्रथम १२५ औं अन्तर्राष्ट्रिय मे दिवसको उपलक्ष्यमा तपाई र तपाई मार्फत सम्पूर्ण श्रमिक कामदार दाजू भाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
श्रम जगत र श्रमिकहरुका लागि मे दिवसले विशेष महत्व राख्दछ । मे दिवस श्रमिकहरुले विगतमा प्राप्त गरेका उपलव्धीहरुको सम्झना गर्ने दिन मात्र नभई वर्तमान अवस्थाको समीक्षा र उन्नत भविष्यको लागि चिन्तन गर्ने दिवस पनि हो । हाम्रो औद्योगिक ईतिहास तुलनात्मक रुपमा लामो छैन तापनि हामीले हामी भित्रै र वाहिरबाट थुप्रै सिक्ने अवसर पाएका छौं । उकाली ओरालीको यात्रा पनि पार गरेका छौं । विगत वर्षहरुको तुलनामा हालका वर्षमा श्रम सम्बन्धमा सुधारका सूचकहरु देखिएका छन् । यो सकारात्मक पक्ष हो । दिगो र भरपर्दो औद्योगिक सम्बन्ध हाम्रो आवश्यकता र चाहना हो, यसका लागि हामीले सबै पक्ष खासगरी ट्रेड यूनियनसंगको सहकार्य र आपसी समझदारीलाई उच्च महत्व दिएका छौं ।
आर्थिक बृद्धि, गुणात्मक रोजगारी र उन्नत कार्य जीवन जस्ता हाम्रा चाहना र अपेक्षासंगै समस्या र चूनौतिहरु पनि छन्, हाम्रो संयुक्त प्रयास र अठोटबाट अपेक्षित लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो । औद्योगिक सम्बन्धलाई अझ मजबूद र भरपर्दो बनाउन आपसी समझदारी, सहयोग र सहकार्यमा जोड दिंदै सम्पूर्ण श्रमिक कामदार साथीहरुको सुख एवं सम्बृद्धिको कामना समेत गर्दछु ।