सार्क उद्योग वाणिज्य संघका अध्यक्ष इस्माइल असिफ (Ismail Asif, President, SAARC Chamber of Commerce and Industry-SCCI) को नेतृत्वमा आएको सार्क क्षेत्रका उद्यमी व्यापारिक प्रतिनिधिमण्डलले सार्क महासचिव अर्जुन बहादुर थापासंग आज सार्क सचिवालय काठमाडौंमा भेटी सार्क क्षेत्रको आर्थिक विकास तथा व्यापार एवं लगानी प्रवद्र्धनका विषयमा छलफल गर्यो ।
सार्क उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसंगको भेटवार्तामा सार्क महासचिव थापाले दक्षिण एशियाली क्षेत्रलाई आकर्षक आर्थिक केन्द्रको रुपमा स्थापित गराउनु आफ्नो उद्देश्य रहेको बताउनु हुंदै सोका लागि यस क्षेत्रका निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नु भयो । उहांले सार्क उवासंघले दक्षिण एशियाली निजी क्षेत्र बीचको भेटघाट एवं आर्थिक एवं व्यापारिक प्रवद्र्धनमा निर्वाह गर्दै आएको भूमिकाको सराहना गर्नु हुदै यस क्षेत्रको आर्थिक विकास तथा अन्तर क्षेत्रीय व्यापार अभिवृद्धिका लागि अझ सशक्त रुपमा लाग्न आग्रह गर्नु भयो ।
महासचिव थापाले प्राकृतिक श्रोतको धनी यस क्षेत्रको विकासका लागि उर्जा तथा पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनमा विशेष ध्यान पुर्याउनु पर्ने सुझावदिदै व्यापार एवं वित्तिय क्षेत्रमा समेत प्रचूर मात्रामा संभावना रहेको औल्याउनु भयो ।
सार्क उवासंघका अध्यक्ष इस्माइल असिफ (Ismail Asif, President, SAARC Chamber of Commerce and Industry-SCCI) ले संघका गतिविधि तथा भावी रणनीतिका विषयमा जानकारी गराउदै सार्क उवासंघलाई यस क्षेत्रको व्यापारिक तथा लगानी प्रवद्र्धन गर्ने एक सशक्त संस्थाको रुपमा विकास गर्दै जाने र सार्क क्षेत्रका उद्यमी व्यापारीहरु बीचको भेटघाटलाई तिव्र पार्दै दक्षिण एशियाली क्षेत्रको आर्थिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै जाने विश्वास दिलाउनु भयो ।
यसैगरी सार्क उवासंघका पूर्व अध्यक्ष पद्म ज्योति तथा नवनियुक्त वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले सार्क उवासंघ तथा सार्क सचिवालय बीच रहीआएको सहकार्यलाई संस्थागत गर्नु पर्ने सुझाव दिंदै सार्क क्षेत्रको आर्थिक, लगानी तथा व्यापारिक अभिवृद्धिका लागि सूचनाहरुको आदानप्रदान हुनु पर्नेमा जोड दिनु भयो । साथै निकट भविष्यमा नै सम्पन्न हुन गइरहेको सार्क शिखर सम्मेलनमा निजी क्षेत्रको तर्फबाट यस क्षेत्रको आर्थिक विकासका लागि अवलम्बन गर्नुपर्ने रणनीतिहरु सम्मेलनमा राख्न पाउने व्यवस्थाका लागि समेत अनुरोध गर्नु भयो ।
सो भेटवार्तामा सार्क चेम्बरका निवर्तमान अध्यक्ष विक्रमजित सिंह साहने (Vikramjit Singh Sahney), उपाध्यक्ष इफ्तिकार अलिमल्लिक (Iftikhar Ali Malik, Vice President, SAARC CCI (Pakistan) & Former President FPCCI), संघका महासचिव मोहम्मद इकवाल तविस (Muhammad Iqbal Tabish, Secretary General SCCI), सार्क सचिवालयका निर्देशक एल. साविथ्रि (L.Savithri), Friedrich Naumann Foundation का सुबोध कुमार लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।