जनवादी गणतन्त्र चीनको युनान प्रान्तको कुनमिङ शहर (Kunming, China) मा जेष्ठ २३ गतेदेखि शुरु हुने दोश्रो चीन दक्षिण एशिया मेला (2nd China-South Asia Expo), २२ औं कुनमिङ आयात निर्यात प्रदर्शनी (22nd Kunming Export/Import) तथा नवौं चीन-दक्षिण एशिया व्यावसायिक फोरम (9th China-South Asia Business Forum) को बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गऱ्यो ।
अध्यक्ष पाण्डेको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले कुनमिङमा जेष्ठ २३ गते दोश्रो चीन दक्षिण एशिया मेलाका अवसरमा राखिएको नेपाल पेभिलयन समुद्घाटन समारोहमा भागलिने छ । उक्त पेभिलियनको सम्माननीय प्रधानमन्त्री श्री सुशिल कोइरालाले समुद्घाटन गर्नुहुने कार्यक्रम छ । यस वर्षको दोश्रो चीन दक्षिण एशिया मेलामा नेपाललाई country of honor को रुपमा निम्ताइएको छ । उक्त मेलामा नेपालको थिम पेलिलियनका साथै पांच दर्जन भन्दा बढी नेपाली स्टलहरु राखिएको छ । उक्त मेलामा दक्षिण एशिया, दक्षिण पूर्वी एशिया लगायतका राष्ट्रहरुको सहभागिता रहेको छ ।
महासंघको प्रतिनिधिमण्डलले जेष्ठ २४ गते कुनमिङमा हुने नवौं चीन-दक्षिण एशिया व्यावसायिक फोरम (9th China-South Asia Business Forum) मा भाग लिने छ । नेपाल लगायत सार्कका सवै सदस्य राष्ट्रहरु र चीनको कुनमिङ बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार गरि यस क्षेत्रको विकासमा सहकार्य गर्ने उद्देश्यले यस क्षेत्रका सदस्य राष्ट्रका उद्योग वाणिज्य महासंघहरुको सक्रियतामा उक्त फोरमको खडा भएको हो । नवौं फोरम बैठकमा यस क्षेत्रको आर्थिक एवं व्यापारिक सम्भाव्यता, समस्या तथा चुनौतीहरु, लगानी विस्तार, लगानीका सम्भाव्यता विषयमा छलफल हुने छ ।
प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष किशोर प्रधान, महासंघको उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, महासंघका कारिणी समितिका निवर्तमान सदस्य ध्रुवराज श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशी, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्वल जोन्छे, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगतवावु जोशी, नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्य, नेपाल छालाजुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्याय, नेपाल हस्तकला महासंघका उपाध्यक्ष सुरेन्द्र भाई शाक्य, ललितपुर उवासंघका महासचिव सविनलाल श्रेष्ठ, महासंघका सहायक निर्देशकद्वय विष्णु राज ढकाल र विदुरचन्द्र लामिछाने, उद्योग संगठन मोरग्का प्रमुख कार्यकारि सोमनाथ अधिकारी, आर्थिक पत्रकार हरिशरण न्यौपाने हुनुहुन्छ । त्यसैगरि दोश्रो चीन दक्षिण एशिया मेला (2nd China-South Asia Expo) मा नेपालबाट पांच दर्जन भन्दा बढी नेपाली कम्पनीहरुले भाग लिइरहेका छन् । उक्त मेला आगामी जेष्ठ २८ गतेसम्म चल्ने छ ।
अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियां परिषद (China Council for the Promotion of International Trade - CCPIT) द्वारा आयोजना भएको उक्त बैठकको यस वर्षको मुख्य विषय चीन तथा दक्षिण एशिया बीच व्यापार तथा लगानी (Trade and Investment between China and South Asia) रहेको छ । उक्त बैठकमा महासंघका अध्यक्ष पाण्डेले चीन-दक्षिण एशिया बीच नविन उर्जा तथा लगानीका सम्भाव्यता विषयमा मन्तव्य राख्नुहुने कार्यक्रम छ ।
उक्त कार्यक्रममा सार्कका सवै सदस्य देशका उद्योग वाणिज्य संघ/महासंघका पदाधिकारीहरु, उद्यमी व्यवसायीहरु, लगानीकर्ताहरुका साथै चिनिया उद्यमी व्यवसायीहरुको सहभागिता रहने छ । उक्त बैठकबाट चीन तथा दक्षिण एशियाली राष्ट्रहरु बीच आगामी दिनमा आर्थिक तथा व्यापारिक सम्बन्ध थप विस्तार हुने अपेक्षा गरिएको छ ।