नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाको संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले आज एक विशेष समारोहका बीच काठमाडौंमा समुद्घाटन गर्नुभयो ।
संविधान सभाका सदस्यहरु, मन्त्रिहरु, राजदुतहरु, महासंघका निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु, मुलुकभरका उद्यमी व्यवसायीहरु, संचारकर्मीहरु, लव्धप्रतिष्ठित उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित उक्त समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि संविधानसभाका अध्यक्ष नेम्वाङले निजी क्षेत्रको एकताबाट मात्र आर्थिक विकासका हरेक प्रयासलाई सफल पार्न सकिने हुंदा निजी क्षेत्रलाई एकजुट भएर अगाडी बढ्न अनुरोध गर्नुभयो ।
निजी क्षेत्रले विगतदेखिनै अनुरोध गर्दै आएका आर्थिक विकाससंग सम्बन्धित केही विधेयकहरुलाई संसदमा छिटो दर्ता गराउने कार्यमा सम्बन्धित निकायमा दवाव दिन निजी क्षेत्रलाई आग्रह गर्दै संसदमा प्रस्तुत ती विधेकहरुलाई पारित गराउने कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु भयो ।
राष्ट्रको आर्थिक विकासका लागि प्रमुख वाधक रहेको उर्जा संकट समाधानका लागि दवावका अभियान चलाउन निजी क्षेत्रलाई आग्रह गर्दै महासंघले अगाडी सारेको अभियानमा आफ्नो पूर्ण सहयोग रहने वचन दिनु भयो । राजनीतिक दलहरुलाई उद्यमी व्यवसायीहरुबाट चन्दा दिने अभियाननै हटाउनु पर्नेमा जोड दिनुहुंदै सभाध्यक्ष नेम्वांगले राज्य तथा शुभचिन्तक र दलका कार्यकर्ताहरुले दिएको शुल्कबाट दलहरु चल्नु पर्छ भन्दै उद्यमी व्यवसायीहरुबाट चन्दा लिने कार्य वन्द हुनुपर्नेमा जोड दिनु भयो ।
विगतकेही समयदेखि संसद अवरुद्ध भएको प्रसंग राख्नु हुंदै उहांले कुनै पनि प्रकारको अवरुद्ध, वन्द हड्ताल जस्ता गतिविधिहरु पूर्ण रुपमा वन्द गराउने तर्फ निजी क्षेत्रलाई दवाव दिन आग्रह गर्नुृभयो । उहांले पूर्व वजेट छलफल पश्चात मात्र वजेट कार्यक्रम ल्याउने विगतदेखिकै अभ्यासलाई सार्थक वनाउन आफूले पूर्ण गृहकार्य गरिरहेको जानकारी गराउनु हुंदै वजेट सार्वजनिक गर्न केही ढिला भएपनि संसदमा १५ दिन पूर्व वजेट छलफल कार्यक्रम राखेर मात्र वजेट सार्वजनिक गर्ने व्यवस्था संसदले गर्ने जानकारी गराउनु भयो ।
उहाँले निर्धारित समय अर्थात आगामी माघ ८ गते भित्रै संविधान ल्याउने तर्फ निश्चिन्त हुन निजी क्षेत्रलाई आग्रह गर्दै संविधान निर्माणका क्रममा अहिलेसम्म वनेका कार्यतालिका अनुसारनै कार्यहरु अगाडी वढेकाले यसमा कुनै संका नगर्न पनि उद्यमी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । निजी क्षेत्रले भोग्नु परेका समस्या तथा चुनौती तर्फ आफू जानकार भएको वताउनु हुंदै प्रमखु अतिथिले त्यसतर्फ आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वताउनु भयो । साथै उहांले महासंघको विशेष साधारण सभाको पूर्ण सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्नुहुदै महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले उठाएका मुद्धाहरु, निजी क्षेत्रका समस्या तथा चुनौतीहरुको समाधानका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
साधारण सभाका समुद्घाटन समारोहमा आछाम उद्योग वाणिज्य संघको भौतिक विकासमा सहयोग गर्नुहुने भारत निवासी नेपाली उद्यमी डा. एन के सिंह र ओखलढुंगा उद्योग वाणिज्य संघको भौतिक विकासमा सहयोग गर्नु हुने उद्यमी ज्ञानेन्द्र मास्केलाई सो अवसरमा प्रमुख अतिथि संविधानसभाका अध्यक्ष नेम्वाङले सम्मान गर्नुभयो ।
समुद्घाटन समारोहको अन्त्यमा महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले धन्यवाद मन्तव्य दिनु भएको थियो ।
यसपश्चात अर्थमन्त्रीको प्रमुख आतिथ्यतामा कर तथा राजश्व सम्बन्धी अन्तरक्रिया आयोजना हुने कार्यक्रम छ । तत्पश्चात महासंघको विशेष साधारण सभाको वन्द चल्ने छ ।