नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे र नेपालका लागि अष्ट्रेलियाली राजदूत ग्लेन ह्वाइट (Glenn White) बीच आज महासंघ सचिवालयमा आपसी भेटवार्ता सम्पन्न भयो । महासंघका उपाध्यक्षहरु किशोर प्रधान र दिनेश श्रेष्ठ, महानिर्देशक डा. हेमन्त दवाडी सहभागि रहनु भएको उक्त भेटवार्तामा राजदुत ग्लेन ह्वाइट (Glenn White) ले आफ्नो कार्यकालमा नेपाल र अष्ट्रेलिया बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार भएको हेर्न चाहेको बताउनु भयो ।
सो अवसरमा राजदुत ग्लेनको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष पाण्डेले नेपाल र अष्ट्रेलिया बीचको आर्थिक सम्बन्धलाई अझ मजबूत र सुदृढ पार्न निजी क्षेत्र बीच निरन्तर रुपमा छलफल र भेटघाट हुनु पर्नेमा जोड दिनुभयो । यस सम्बन्धमा नेपालको निजी क्षेत्रको छाता संगठनको रुपमा महासंघ सहकार्य गर्न तत्पर रहेको पनि उहांले स्पष्ट पार्नु भयो । अध्यक्ष पाण्डेले नेपालमा लगानीको वातावरणमा केही सुधार आइरहेको बताउनु हुदै अष्ट्रेलियाली लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने कार्यमा कुटनीतिक तहबाट सहयोग गर्न अनुरोध गर्नु भयो ।
सो भेटमा राजदूत ह्वाइटले नेपाल र अष्ट्रेलिया बीचको व्यापारिक सम्बन्धमा नेपालले व्यापारिक घाटा सहनु परेको जिकिर गर्दै नेपालबाट बढी भन्दा बढी वस्तुहरु अष्ट्रेलियाको बजारमा गएको हेर्न चाहेको र यस आफूले सक्दो सहयोग पुऱ्याउने विश्वास दिलाउनु भयो । आधा शताब्दी भन्दा लामो सम्बन्ध रहेको नेपाल र अष्ट्रेलिया बीचको आर्थिक सम्बन्ध विस्तारमा दुई देशका निजी क्षेत्रले अग्रणी भूमिका खेल्नु पर्ने कुरा बताउनु भयो । अष्ट्रेलियाली बजारमा नेपालका वस्तुहरु जस्तैं कफि, अर्गानिक चिया, फ्रेस फ्ल्वार्स लगायतका वस्तुहरुको माग भएकोले नेपाली उत्पादकहरुले niche products को विकासमा ध्यान दिनु पर्ने सुझाव दिनु भयो ।