बेल्जियम र नेपाल बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले बेल्जियममा कार्य क्षेत्र रहेको नेपाली बेल्जियम व्यवसायी संघले नेपाल उद्योग वाणिज्य महासंघको वैदेशिक सदस्यता प्राप्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले सो संघका महासचिव लोक दाहाललाई आज महासंघ सचिवालयमा एक कार्यक्रम बीच महासंघको वैदेशिक सदस्यताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
महासंघको अघिल्लो वर्ष मिति २०७० पौष १२ गते, नुवाकोटमा सम्पन्न १५ औं कार्यकारिणी समिति बैठकले महासंघको विधानमा व्यवस्था भए वमोजिम उक्त संघलाई वैदेशिक सदस्यता दिने निर्णय गरेको थियो । उक्त संघले सदस्यता वापत महासंघलाई वार्षिक रुपमा एक हजार अमेरिकी डलर सदस्यता शुल्क बुझाउनु पर्नेछ । महासंघले अन्य यूरोपेलि राष्ट्रहरुमा नेपाली उद्यमी व्यवसायीहरुले स्थापना गरेका संघहरुलाई पनि यस प्रकारको सदस्यता विस्तार गर्दै जाने रणनीति लिएको छ ।
महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी र सो संघका निवर्तमान अध्यक्ष अर्जुनकुमार श्रेष्ठ समेत उपस्थित रहनु भएको उक्त अवसरमा नेपाल र बेल्जियम बीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन लगायतका विषयमा छलफल समेत भयो ।
सो अवसरमा महासंघका अध्यक्ष पाण्डेले महासंघको यस प्रकारको सदस्यता विस्तारबाट नेपाल र सम्बन्धित देश बीचको आर्थिक व्यापारिक सम्बन्ध विस्तार, संयुक्त लगानी प्रवद्र्धन लगायतमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुहुदै दुई देश बीच के गर्दा आर्थिक सम्बन्ध प्रगाढ बनाउन सकिन्छ त्यस क्षेत्रमा कार्य गर्न संघका पदाधिकारीलाई आग्रह गर्नुभयो । अध्यक्ष पाण्डेले महासंघले अन्य यूरोपेलि राष्ट्रहरुमा नेपाली उद्यमी व्यवसायीहरुले स्थापना गरेका संघहरुलाई समेत महासंघको संजालभित्र समेट्दै जाने प्रतिवद्धता जनाउनु भयो ।
संघका महासचिव लोक दाहालले नेपाल उद्योग वाणिज्य महासंघको छाताभित्र समावेश हुन पाएकोमा खुशी प्रकट गर्नुहुंदै महासंघसंग नजिकमा रहेर द्विपक्षीय लाभका क्षेत्रमा आफ्नो संस्था वेल्जियमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो ।