नेपाल सरकारको आ.व. २०७१/७२ को बजेटमा नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा व्यवसाय गर्ने वातावरण बनाई रोजगारी अभिवृद्धि गर्ने माग अनुरुपकै नीतिगत सुधार र कतिपय आवश्यक ऐन कानून निर्माण र कतिपय विद्यमान ऐनमा संशोधनको प्रतिवद्धता आएको छ । साथै देशलाई उच्च आर्थिक वृद्धिमा लैजानु, गरिवीको दुष्चक्रबाट मुक्त गर्नु र दीर्घकालिन विकासको लागि सामाजिक र भौतिक आधारशिला निर्माण गर्नुलाई मूल लक्ष्य मानी आएको बजेटलाई नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक रुपमा लिएको छ । वजेट वक्तव्यमा अर्थतन्त्रमा निजी क्षेत्रको दरिलो उपस्थितिलाई स्वीकार गरिनु स्वागतयोग्य छ ।
मुलुकलाई सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट उकास्ने लक्ष्यमा आधार गरेर बनाइएको भनिएको यस बजेटमा उर्जा, कृषि, मानव संशाधन विकास र उद्यमशिलतामा दिइएको जोडको महासंघ सराहना गर्दछ र महासंघवाट उठान भएका धेरै विषयहरु संवोधन भएकोमा नेपाल सरकार, विशेष गरि माननीय अर्थमंत्रीज्यूप्रति महासंघ हार्दिक आभार व्यक्त गर्दछ ।
लगानी र व्यवसायको वातावरणमा सुधार ल्याउने कार्य एक निरन्तर प्रकृया हो र यो एउटा बजेट बक्तव्य वा एक आवधिक योजनाले पुरा गर्न सक्दैन । वजेटमा उल्लेख भएका नीतिगत सुधार र कार्यक्रमहरु पुरा गर्दै जाने हो भने व्यवसायिक वातावरणमा सुधार हुनेछ । सवैभन्दा ठूलो चुनौतीनै व्यक्तव्यमा उल्लेख भएका सुधारका कार्यक्रमलाई तोकिएको समयभित्र यथार्थमा उतार्नु हो । साथै नया बन्ने कानुन तथा नीतिहरु निजी क्षेत्रलाई विस्वासमा लिएर वनाइनु पर्दछ र सतहि रुपमा केहि विसंगति हटाएर नयाँ नीति र कानुन ल्याउदैमा निजी क्षेत्रको अपेक्षा पुरा हुन सक्दैन । वजेटमा उल्लेख भएका सुधारका कार्यक्रमको सफलताका लागि सरकार र निजी क्षेत्र वीच अझ गहन सहकार्य आवश्यक छ र यस्तो कार्यमा सरकारलाई निरन्तर साथ दिन महासंघ तयार छ ।
वजेटले कर राजश्वका दर एवं प्रक्रियाहरुमा ठूला परिवर्तन गरेको छैन । यो निश्चयनै यस वजेटको सकारात्मक पक्ष हो र यसले आंकलन योग्य वातावरण (Predictable Environment) को निर्माणमा सहयोग पुर्याउने छ । वजेटमा उद्यमशिलता विकासका लागि शुरु पूजी उपलब्ध गराउने गरी कोष निर्माण गरिने र सरकारवाट रु ५० करोडको विउ पूजी उपलब्ध गराउने निर्णय स्वागतयोग्य छ । यस्तो किसिमको कोषमा स्वदेशी र विदेशी लगानी समेत प्रोत्साहन हुनेगरी वातावरण निर्माण गर्न महासंघ सरकारसंग अनुरोध गर्दछ ।
उर्जा उत्पादनमा संलग्न व्यवसायीहरुले विगतदेखिनै उठाउंदै आएको मुअकर छुटको विषयलाई वजेटले केहि हदसम्म संवोधन गरेको छ । निजी क्षेत्रको अपेक्षा अनुसारको मात्रामा अनुदानको व्यवस्था हुन नसकेपनि यस व्यवस्थाबाट केहिमात्रामा परियोजना छिटो निर्माणका लागि प्रोत्साहन मिल्ने महासंघको विश्वास छ । उर्जा क्षेत्रमा विनियोजन गरिएको वजेट अनुसार लगानी हुन सके निश्चयनै ३ वर्षभित्र लोडसेडिङ मुक्त हुन सक्ने छ । विगत वर्षहरुमा प्रशारण लाइन विकासमा राम्रै मात्रामा वजेट छुट्याइए पनि अपेक्षित मात्रामा खर्च भई प्रशारण लाइनको विकास हुन नसकेको कुरालाई मनन गर्दै समयमानै वजेटमा व्यवस्था गरिएका कुरालाई कार्यान्वयनमा ल्याउन महासंघ सरकारसंग अनुरोध गर्दछ ।
सरकार र महासंघ मिलेर संचालनमा रहेका एक जिल्ला एक उत्पादन एवं एक गाउँ एक उत्पादनका लागि वजेटको निरन्तरता दिइएकोमा महासंघ नेपाल सरकारप्रति आभार ब्यक्त गर्दछ । नेपालका साना मझौला व्यवसायीले सामना गर्दै आएको मिसम्याच लगायतका कर राजश्व सम्वन्धी समस्याको पूर्ण समाधान यस वजेटले गर्न सकेको देखिदैन । मिसम्याचको केहि समस्या संवोधन गर्न खोजे पनि मू.अ.करको थ्रेस होल्ड वढाउनु पर्ने मागलाई संवोधन गरिएन । संपतिको औपचारिक अभिलेख राख्ने व्यवस्थाका लागि छुटै कानुन वनाउने कुरा स्वागत योग्य छ । निजी क्षेत्रलाई विश्वासमा लिएर यस्तो कानुन यथाशिध्र ल्याउनु पर्दछ भन्ने हाम्रो धारणा
छ ।
वजेट वक्तव्यमा नेपाललाई क्षेत्रीय तथा विश्व मूल्य श्रृङखला (Value Chain) मा जोड्ने कुरा उल्लेख भएको छ । तर निर्यात प्रवर्धनको आवश्यक ठोस र रणनीतिक र कार्यक्रम आउन सकेको छैन । निर्यातका लागि दिइने अनुदानमा वृद्धि गर्दै भारत निर्यातमा समेत यसको विस्तार हुनु पर्दछ भन्ने महासंघको माग वजेटले संवोधन गर्न सकेको छैन । साथै निर्यात प्रवद्र्धनका लागि १० वस्तु र १० मुलुकको म्याट्रिक्स वनाई कार्यक्रम ल्याउनु पर्दछ भन्ने धारणा यस महासंघको छ ।
वजेटले लिएका नीति र राखिएका कार्यक्रम समग्रमा सकारात्मक छन् । ती कार्यक्रमको प्रभावकारी कार्यान्यवन हुन सके नेपाल द्रुततर आर्थिक उन्नतिको मार्गमा अघि वढ्न सक्ने निजी क्षेत्रको विश्वास छ । वक्तव्यमा राम्रा र आकर्षक नीति कार्यक्रम र परियोजना कार्यान्वयनको घोषणा गर्ने र वर्ष दिन पुग्दा पनि ती कार्यन्वयनमा नआउने नेपाली वजेट निर्माणको नियति जस्तै भएको छ । यस वर्षको वजेट कार्यक्रम घोषणामा मात्र सिमित नभई निजी क्षेत्रलाई समेत विश्वासमा लिएर प्रभावकारी कार्यान्वयनमा जाओस यहिनै हाम्रो शुभकामना छ ।