कृषि उद्यम केन्द्र नेपाल उद्योग वाणिज्य महासंघद्वारा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा आज महासंघ सचिवालयमा आयोजित एक गाउँ एक उत्पादन कार्यक्रम राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भयो । कार्यक्रम लागू भएका ३२ वटा जिल्लाको अनुभव आदान प्रदान गर्ने तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखा परेका चुनौती एवं समस्याका विषयमा छलफल गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल सरकार/कृषि विकास मन्त्रालयसंगको सहकार्यमा कृषि क्षेत्रको व्यवसायीकरणका लागि नेपाल उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्र मार्फत एक गाउँ एक उत्पादन कार्यक्रम (ओभोप) अन्तर्गत २३ वटा कृषि उत्पादन संचालन गर्दै आएको छ । आर्थिक वर्ष २०६३-६४ मा ४ वस्तु र ७ जिल्लाबाट शुरु गरिएको यो कार्यक्रम सार्वजनिक निजी साझेदारीमा संचालित सफल कार्यक्रम हो ।
उक्त गोष्ठीलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि कृषि मन्त्री पराजुलीले नेपालको सन्दर्भमा कृषि क्षेत्रको विकासबाट मात्रै अर्थतन्त्रको विकास हुने प्रचुर सम्भावना रहेकाले कृषि क्षेत्रको व्यवसायिक विकासमा सरकारले निजी क्षेत्रसंगको सहकार्यमा काम गर्ने विश्वास दिलाउनु भयो । यसपालीको वजेटमा नयांपन रहेको र कृषि क्षेत्रको विकासका लागि धेरै कार्यक्रम आएको मन्त्री पराजुलीले वताउनु भयो । उहांले सरकार निजी क्षेत्रको संयुक्त आयोजनामा संचालनमा रहेको एक गाउं एक उत्पादन कार्यक्रमलाई अझ विशिष्टिकृत गर्दै लैजानु पर्नेमा जोड दिनुहुंदै यसको कार्यान्वयनकारी निकाय कृषि उद्यम केन्द्रलाई स्थानीय सम्भाव्यता तथा आवश्यकताका आधारमा ओभोप कार्यक्रम विस्तार गर्न सुझाव दिनु भयो । साथै उहांले यस क्रममा आवश्यक सहयोग गर्न आफ्नो मन्त्रालय तयार रहेको पनि विश्वास दिलाउनु भयो ।
कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले एक जिल्ला एक उत्पादन कार्यक्रमको सफल संचालनको सराहना गर्नुहुंदै कृषि उद्यम केन्द्रबाट संचालनमा रहेका एक गाउँ एक उत्पादन कार्यक्रम(ओडोप)लाई विस्तारै स्थानीय तहबाटै दीगो रुपमा संचालनको जिम्मेवारी दिने पक्षमा मन्त्रालय रहेको जानकारी गराउनु भयो । सचिव खनालले भन्नुभयो एक गाउँ एक उत्पादन कार्यक्रम संचालनको क्रममा आवश्यक आर्थिक सहयोग अव सरकारले विस्तारै हटाउंदै स्थानीय तहबाटै त्यसको सफल संचालनमा जोड दिने स्पष्ट पार्नुभयो । प्राविधिक सहयोग आवश्यक परेमा मन्त्रालय सहयोग गर्न तयार छ, सचिव खनालले भन्नुभयो—यस वर्षको वजेटमा ओभोपका लागि वजेट विनियोजन गरिएको छ ।
सभापतिको आशनबाट महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले एक जिल्ला एक उत्पादन र एक गाउँ एक उत्पादन कार्यक्रमलाई महासंघले आफ्नो महत्वपूर्ण कार्यक्रमको रुपमा लिएको र यसलाई स्थानीय क्षेत्रमा रोजगारी सृजना र आर्थिक जीवनस्तर सुधारको प्रमुख माध्यमको रुपमा आगामी दिनमा विकास गर्दै लैजाने वताउनु भयो ।
महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले व्यवसायिक कृषि क्षेत्रलाई अगाडी बढाउन सकिएमा समष्टिगत आर्थिक विकासमा ठूलो फड्को मार्न सकिने वताउनु भयो । उहांले ओभोपका उत्पादनहरुको गुणस्तर सुधार, वजारीकरण, प्याकेजिङमा विशेष ध्यान दिन पनि सुझाव दिनु भयो ।
कृषि उद्यम केन्द्रका सभापति भवानी राणाले संचालनको छोटो अवधिमै कार्यक्रम निकै सफलरुपमा अगाडी बढेको र यसबाट कार्यक्रम क्षेत्र विस्तार हुंदै गएको, उत्पादन वृद्धि भएको, गुणस्तरीय उत्पादन सदृढ हुंदै आएको, वजार व्यवस्थापन र स्थानीय वासिन्दाहरु लाभान्वित हुंदै आएको वताउनु भयो ।
कार्यक्रममा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारि प्रदीप महर्जनले ओभोपको परिचय र वर्तमान स्थिति, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष रामेश्वर मानन्धरले ओभोप कार्यक्रम लागू भएका पांचै विकास क्षेत्रमा संचालित ओभोप कार्यक्रम र नुवाकोट उद्योग वाणिज्य संघका राजन श्रेष्ठले नुवाकोट जिल्लामा ट्राउटको सफलताका विषयमा अनुभव आदान प्रदान गर्नु भएको थियो । कार्यक्रममा ओभोप लागू भएका ३२ जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारी एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।