नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे र नयां दिल्लीस्थित अष्ट्रियन राजदूतावासका ट्रेड कमिसनर (Austrian Trade Commissioner) डा. उलफ्राम मोरिज (Dr.Wolfram Moritz) बीच महासंघ सचिवालयमा भेटवार्ता भयो । महासंघका उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गोल्छा सहभागी रहनु भएको उक्त भेटवार्तामा नेपालमा लगानी तथा व्यवसायिक वातावरणका विषयमा छलफल भयो ।
सो भेटमा अध्यक्ष पाण्डेले नेपालमा राजनीतिक स्थिरता स्थापित हुदै गइरहेको र विगतका वर्षमा आर्थिक सूचकांकहरु पनि सकारात्मक रहेको बताउनु हुदै नेपालमा लगानी तथा व्यवसायिक वातावरण सुदृढ हुदै गएको जानकारी गराउनु भयो । उहांले नेपाल र अष्ट्रिया बीच करिब पांचदशक लामो दौत्य सम्बन्ध भएता पनि आर्थिक सम्बन्धमा सोचे अनुरुप सुधार हुन नसकेको बताउनु हुदै द्धिपक्षीय आर्थिक सम्बन्ध विकास र प्रवद्र्धन गर्न महासंघ सहकार्य गर्न तत्पर रहेको बताउनु भयो ।
अध्यक्ष पाण्डेले नेपाल सरकारले हालै प्रस्तुत गरेको बजेटमा जलश्रोत, कृषि, पूर्वाधारलाई बढी महत्व दिएको सन्दर्भ उठाउनु हुदै यी क्षेत्रहरुमा अष्ट्रियन लगानी भित्र्याउन अनुरोध गर्नु भयो । उहांले कुनै पनि दुई मुलुकबीच आर्थिक सम्बन्ध स्थापित र विकास हुनका लागि ती मुलुकहरुका निजी क्षेत्र बीच निरन्तर अन्तरक्रिया र भेट हुनु पर्ने कुरामा जोड दिनु हुदै यस विषयमा सहयोग गर्न अष्ट्रियन राजदूतावासलाई अनुरोध गर्नु भयो ।
अष्ट्रियन ट्रेड कमिसनर डामोरिजले नेपालमा विकसित घटनाक्रमहरुले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह भएको बताउनु हुदै नेपाल र अष्ट्रिया बीचको आर्थिक सम्बन्ध, व्यापार प्रर्वद्धन गर्न आफू लागि पर्ने बताउनु भयो । उहांले नेपालमा अष्ट्रियन कम्पनीहरुले गुणस्तरीय कम्पनीको रुपमा आफ्नो छाप बनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै नेपाल र अष्ट्रिया बीच व्यापार अभिवृद्धिको प्रबल संभावना रहेको बताउनु भयो ।
सो अवसरमा महासंघका कार्यकारिणी समिति सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान र ओम बहादुर राजभण्डारी र महानिर्देशक डा. हेमन्त दवाडीले नेपालको लगानी योग्य क्षेत्रहरुको बारेमा थप जानकारी दिनु हुदै अष्ट्रियन लगानीकर्ताहरुलाई स्वागत गर्न नेपाल आतुर रहेको बताउनु भयो ।