नेपालका लागि दक्षिण कोरियाका नवनियुक्त राजदूत चो योङ्ग-जीन (Choe, Yong-Jin) ले आफ्नो कार्यकालमा नेपाल र दक्षिण कोरिया बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध थप सुदृढ गर्ने कार्यमा आफू कार्यरत रहने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेसंग आज महासंघ सचिवालयमा भएको भेटवार्तामा राजदूत चोले सो कुरा वताउनु भएको हो ।
सो भेटमा राजदूत चोले नेपालको बजार तथा नेपालमा लगानीको सम्भाव्यता भएका क्षेत्रहरुको बारेमा आफूले दक्षिण कोरियाली लगानीकर्ताहरु माझ जानकारी गराउने विश्वास दिलाउंदै नेपाल र दक्षिण कोरिया बीच दौत्य सम्बन्ध स्थापना भएको चालिसौं वर्षगांठको उपलक्ष्यमा नेपालमा दुई देशको आर्थिक तथा व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने जानकारी समेत गराउनु भयो ।
सो अवसरमा महासंघका अध्यक्ष पाण्डेले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा दक्षिण कोरियाको उल्लेखनीय योगदान रहेको बताउदै नेपालको लगानी योग्य क्षेत्रहरु जस्तैं जलविद्युत, पूर्वाधार, पर्यटन आदि क्षेत्रमा कोरियाली लगानी भित्र्याउन सहयोग गर्न अनुरोध गर्नु भयो । अध्यक्ष पाण्डेले दुई देश बीचको आर्थिक सम्बन्धलाई अझ मजबूत र सुदृढ पार्न निजी क्षेत्रबीच निरन्तर रुपमा छलफल र भेटघाट हुनु पर्नेमा जोड दिनु हुदै यस सम्बन्धमा नेपालको निजी क्षेत्रको छाता संगठनको रुपमा रहेको महासंघ सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
महासंघका अध्यक्ष पाण्डेले नेपालमा लगानीको वातावरणमा तुलनात्मक रुपमा सुधार आइरहेको बताउनु हुदै केहीवर्ष यतादेखि निजी क्षेत्रको आत्मबल पनि सुदृढ हुदै गएको वताउनु भयो । कार्यक्रममा महासंघका महानिर्देशक डा. हेमन्त दवाडीको पनि सहभागिता थियो ।