नेपाली उद्यमी व्यवसायीहरुले नेपाली उत्पादनहरुको अमेरिकी बजारमा सहज पहुंचको वातावरण बनाइदिन TIFA Council को Preparatory Meeting का सम्बन्धमा नेपाल भ्रमणमा आउनु भएकी अमेरिकी उपसहायक व्यापार प्रतिनिधि मारा वुरसंग (Ms. Mara Burr, Deputy Assistant U.S. Trade Representative for South and Central Asia) आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सहित पदाधिकारी, नेपाल भ्रमणमा रहनु भएकी मध्य तथा दक्षिण एशिया हेर्ने अमेरिकी उपसहायक व्यापार प्रतिनिधि मारा वुर् र नेपाली उद्यमी व्यवसायी बीच आज महासंघ सचिवालयमा भएको भेटघाट एवं छलफलमा सो आग्रह गरिएको हो ।
नेपाली उत्पादनहरुको अमेरिकी वजारमा सहज पहुंच हुन नसक्दा नेपाली उत्पादकहरुले चाहेर पनि नेपाली उत्पादन अमेरिकी वजारमा निर्यात गर्न नसकेको र अत्यन्त सीमित नेपाली वस्तुहरु मात्र अमेरिकी बजारमा निर्यात हुने गरेको पनि छलफलमा बताइयो । खासगरि नेपाली उत्पादनहरुको गुणस्तरको सवाल अमेरिकी वजारमा प्रमुख रुपमा उठ्ने गरेकाले नेपालमा अन्तराष्ट्रियस्तरको गुणस्तर प्रयोगशाला स्थापनाका लागि सहयोग गर्न पनि नेपाली पक्षबाट आग्रह गरियो । अमेरिकी सरकारले निर्यात पक्षमा देखापरेका अवरोधलाई तत्काल संवोधन गर्नुपर्ने र नेपाली मौलिक उत्पादनहरुको अमेरिकी बजार प्रवद्र्धनमा पनि सहयोग गर्न आग्रह गरियो । अमेरिकामा आयोजना हुने सवै प्रकारका मेला महोत्सवहरुमा नेपाललाई सहभागी गराएर नेपाली उत्पादनहरुको वजार प्रवद्र्धन गर्न सकिने सुझाव नेपाली उद्यमी व्यवसायीहरुको थियो ।
सो अवसरमा अमेरिकी उपसहायक व्यापार प्रतिनिधि मारा वुर्लाई महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा अमेरिकाको उल्लेखनीय योगदान रहेको बताउदै नेपालको लगानी योग्य क्षेत्रहरु जस्तैं जलविद्युत, पूर्वाधार, पर्यटन आदि क्षेत्रमा अमेरिकी लगानी भित्र्याउन सहयोग गर्न अनुरोध गर्नु भयो । अध्यक्ष पाण्डेले नेपाल र अमेरिका बीच भएको व्यापार तथा लगानी ढांचा सम्झौता (Trade and Investmen Framework Agreement) ले दुई देश बीचको आर्थिक सम्बन्धलाई अझ मजबूत र सुदृढ पार्न सहयोग गर्ने भएकोले सम्झौतामा व्यवस्था भए बमोजिमको परिषदको निरन्तर बैठक सम्पन्न हुनका लागि समेत जोड दिनु भयो ।
अमेरिकी उपसहायक व्यापार प्रतिनिधि मारा वुर्ले नेपाल अमेरिकाको बीचको आर्थिक तथा व्यापारिक तथा लगानीका सम्भाव्यता तथा चुनौतीका विषयमा बुझ्न नेपाली उद्यमी व्यवसायीहरुसंग भएको यो छलफल निकै उपलव्धीमुलक भएको र नेपालमा अमेरिकन लगानी तथा नेपाली उत्पादनहरुको अमेरिकी बजार प्रवद्र्धनमा प्राप्त सुझावहरुलाई आफूले गम्भीर रुपमा ग्रहण गरेका बताउनु भयो । उहांले अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आकर्षण गर्न आफूले पहल गर्ने विश्वास समेत जनाउनु भयो ।
महासंघका उपाध्यक्षहरु किशोर प्रधान, दिनेश श्रेष्ठ र शेखर गोल्छा उपस्थित रहनु भएको सो छलफल कार्यक्रममा पूर्व सचिव पुरुषोत्तम ओझा, महासंघको उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति चन्द्र प्रसाद ढकाल, बैंक, वित्तिय तथा वीमा समितिका सभापति शंकर पाण्डे, उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, सूचना तथा प्रविधि विकास समितिका सभापति संजिव राजभण्डारीले नेपालमा उर्जा, पूर्वाधार विकास, द्विपक्षीय व्यापार सहजीकरण, नेपाली उत्पादनहरुको परिक्षणका लागि उच्चस्तरीय प्रयोगशाला स्थापना, नेपालमा अमेरिकन लगानी विस्तार लगायतमा सहयोग गर्न आग्रह गर्नुभयो । छलफलमा महासंघको कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरुको उपस्थिति थियो ।