संयुक्तअधिराज्य वेलायतको निजी क्षेत्रको प्रतिष्ठित संस्था ब्रिटिस उद्योग परिसंघ (Confederation of British Industries) का अन्तर्राष्ट्रिय निर्देशक साइमन मुर (International Director Simon Moore) ले संयुक्तअधिराज्य वेलायत र नेपाल बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्नमा आफूले सक्दो सहयोग गर्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे र महासंघका पदाधिकारीहरुसंग आज महासंघ सचिवालयमा सम्पन्न भेटवार्ताका क्रममा उहांले सो कुरा बताउनु भएको हो ।
नेपालको सम्भाव्ययोग्य लगानीका क्षेत्रहरु सुदृढ हुदै गएको, लगानी तथा व्यापारिक वातावरणका विषयमा बेलायती लगानीकर्ताहरुलाई जानकारी गराउदै उनीहरुलाई नेपालमा लगानी गर्न आफूले प्रेरित गर्ने विश्वास समेत निर्देशक मुरले दिलाउनु भयो ।
सो भेटमा महासंघका अध्यक्ष पाण्डेले नेपालमा बेलायती लगानीकर्ताहरुलाई लगानी गर्न अनुरोध गर्दै नेपाल र बेलायत बीचको सदियौं लामो कुटनीतिक सम्बन्धलाई आर्थिक सम्बन्धको रुपमा समेत थप सुदृढ गर्दै लानु पर्ने र यस सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ ब्रिटिस उद्योग परिसंघसंग सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । अध्यक्ष पाण्डेले दुई सय वर्षगांठको अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमहरुमा निजी क्षेत्र र आर्थिक पक्षलाई विशेष महत्वदिनु पर्ने धारणा समेत व्यक्त गर्नु भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, उपाध्यक्षद्धय किशोर प्रधान र दिनेश श्रेष्ठ तथा महानिर्देशक डा. हेमन्त दवाडीको समेत उपस्थिति रहेको सो भेटवार्तामा महासंघका उपाध्यक्ष शेखर गोल्छा, महासंघको शहरी विकास समितिका सभापति ओम बहादुर राजभण्डारी, स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष खगेन्द्र बहादुर बिष्ट तथा स्टेण्र्डड चार्टड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भ्यानस्ले नेपालको लगानी अवसरका सम्बन्धमा विस्तृत रुपमा जानकारी दिदै नेपालमा लगानी गर्ने वैदेशिक लगानीकर्ताहरुले राम्रो प्रतिफल प्राप्त गरिरहेको, नेपालमा विधिको शासनमा क्रमिक सुधार आइरहेको, दीर्घकालिन सोचका साथ नेपालमा लगानी गर्दा उपयुक्त हुने जस्ता सुझावहरु दिनु भयो ।