नेपाल भ्रमणमा आएको कोलकत्तास्थित भारत चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डल र नेपाली उद्यमी व्यवसायी बीच आज महासंघको सचिवालय टेकूमा द्विपक्षीय आर्थिक व्यवसायिक तथा लगानी विस्तार सम्भाव्यताका विषयमा छलफल भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे तथा महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु सहित नेपाली उद्यमी व्यवसायीहरु तथा भारत चेम्वर अफ कमर्सका अध्यक्ष सज्जन भाजन्का (Sajjan Bhajanka, President, Bharat Chamber of Commerce-BCC) को नेतृत्वमा आएको भारतीय उद्यमी व्यवसायी बीच छलफल भएको थियो । भारत चेम्वर अफ कमर्स कोलकत्ता कार्य क्षेत्र भएको संस्था हो । कोलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको समन्वयमा भ्रमण कार्यक्रम आयोजना भएको हो ।
नेपालमा लगानीका अवसरहरुका सम्बन्धमा अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डलमा घरजग्गा निर्माण, सिमेन्ट तथा स्टिल, उत्पादनकमुलक उद्योगहरु, काठ तथा प्लाईउड, जलविद्युत, होजियारी तथा तयारी पोशाक लगायतका क्षेत्रको प्रतिनिधित्व थियो । सो अवसरमा नेपालमा प्लाइउड, सिमेन्ट, शिल्क, निर्माण क्षेत्र लगायतमा सहकार्य गर्न सकिने प्रस्ताव भारत चेम्वरका तर्फबाट राखियो ।
महासंघ सचिवालयमा दुवै पक्ष बीच क्षेत्रगतरुपमा वीटूवी समेत सम्पन्न भयो । सो अवसरमा दुवै पक्षले एकअर्कामा व्यवसायिक सम्बन्ध विस्तार तथा सहकार्यका सम्भाव्यता माथि छलफल गरेका थिए । छलफलमा भारत चेम्वरका तर्फबाट कोलकत्ता वन्दरगाहमा नेपाललाई सहज र सुलभ वस्तु आयातमा आफ्ना तर्फबाट सघाउने प्रतिवद्धता समेत व्यक्त भयो ।
सो अवसरमा भारत चेम्वरको प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष पाण्डेले नेपालमा यतिखेर लगानीको सही समय भएकाले कोलकत्ताका उद्यमी व्यवसायीलाई लगानीका लागि आग्रह गर्नुभयो । मित्रराष्ट्र भारतका प्रधानमन्त्रीबाट हालै सम्पन्न नेपाल भ्रमणबाट दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुन पुगेको र नेपालको विकास प्रयासमा सवै प्रकारको सहयोग गर्ने प्रतिवद्धता समेत भएको स्मरण गराउंनुहुंदै अध्यक्ष पाण्डेले नेपालमा कोलकत्ताको लगानीको अझ बढी सम्भाव्यता र आवश्यकता रहेको वताउनु भयो ।
आपसी सम्पर्क, व्यवसायिक निकटता तथा अन्य कारणले समेत कोलकत्ताको लगानी नेपालका लागि बढी सम्भाव्य रहेको अध्यक्ष पाण्डेले स्पष्ट पार्नुभयो । अध्यक्ष पाण्डेले भारतीय लगानीको लागि आवश्यक सहयोग गर्न महासंघ तयार रहेको विश्वास समेत दिलाउनु भयो ।
भारत चेम्वरका अध्यक्ष भाजन्का (Sajjan Bhajanka, President, Bharat Chamber of Commerce) ले नेपालमा कोलकत्ताको लगानी विस्तार, लगानीका अवसरहरु वारे अध्ययन गर्न आफूहरु नेपाल आएको जानकारी गराउनु भयो । भ्रमणका क्रममा आफूहरुले नेपाल सरकार, नेपाली निजी क्षेत्रसंग भेटघाट एवं छलफल गरि लगानीका सम्भाव्यता एवं अवसरहरुमा छलफल गरि आगामी कार्यक्रम वनाउने योजना रहेको बताउनु भयो ।
उहांले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलाई निकट समयमै ठूलो नेपाली व्यवसायिक प्रतिनिधिमण्डल सहित कोलकत्ताको भ्रमणका लागि निम्तो समेत दिनु भयो । उहांले आफुहरुको प्रयासमा हालै म्यानमारमा संयुक्त लगानीमा एक प्लाईउड उद्योग स्थापना गर्न सफल भएको र त्यस्तै उद्योगहरु नेपालमा पनि स्थापना गर्ने चाहना आफूहरुको इच्छा रहेको बताउनु भयो ।
प्रतिनिधिमण्डलले वाणिज्य तथा आपूर्ति मन्त्री, उद्योग मन्त्री, लगानी बोर्ड नेपाल, विशेष आर्थिक क्षेत्रको कार्यालयमा भेटघाट गरी नेपालको लगानी वातावरण एवं लगानीयोग्य क्षेत्रहरुका विषयमा जानकारी हासिल गरेको छ । यसैगरी प्रतिनिधिमण्डलले उपप्रधान एवं स्थानीय विकास मन्त्री र परराष्ट्र मन्त्रीसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।