सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स. र मांखा गा.वि.स. को सिमाक्षेत्रको जुरे भन्ने स्थानमा गत १६ गते गएको विनासकारी पहिरोबाट ठूलो जन धनको क्षति हुनुको साथै कैयौं घर परिवार विस्थापित भएको घटना र संखुवासभा जिल्लाको स्यावुन गाविसमा साउन २० गते गएको विनासकारी पहिरोबाट भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघको गंभीर ध्यानाकृष्ट भएको छ र सो क्षति एवं संकट प्रभावित सबैप्रति महासंघ दु:ख व्यक्त गर्दछ ।
पहिरोबाट पुरिई कयौं मानिसहरु अझैपनि हराई रहेका छन् भने सुनकोशी नदी थुनिन गई ताल बन्न जांदा सो क्षेत्र र तल्लो तटीय क्षेत्रका वासिन्दा त्रसिद बन्न गएका छन । पहिरोबाट अरनिको राजमार्गको केही भाग समेत बग्न गई अहिले उक्त क्षेत्र सडक सम्पर्कबाट पूर्णरुपमा विच्छेद भएको र पहिरोका कारण विद्युत सेवा समेत अवरुद्ध भएको अवस्थाप्रति महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ ।
सिन्धुपाल्चोक र संखुवासभामा भएको प्राकृतिक विपत्तिबाट पीडित हुन पुगेकाहरुको सहयोगार्थ महासंघले राहत कार्यक्रमको व्यवस्था गरेकोले यसका लागि सम्पूर्ण सदस्य संघ/संस्था एवं उद्योगी व्यवसायीहरुले आ—आफ्नो तर्फबाट पुर्याउन सकिने नगद तथा अन्य राहत सामग्रीहरु सहयोग पुर्याउनु हुन समेत महासंघ हार्दिक आग्रह गर्दछ । सो प्रयोजनको लागि सहयोग गर्नु हुनेले कुमारी बैंकमा रहेको “नेपाल उद्योग वाणिज्य महासंघ-राहत कोष (FNCCI-Relief Fund), कुमारी बीग सेभिङ खाता नं. १३०९५२४२८१४९४०१५ मा रकम जम्मा गरि महासंघलाई जानकारी गराउन हुन र महासंघको सचिवालयमा सम्पर्क राखी सहयोग बुझाउन सकिने व्यवस्था समेत महासंघले मिलाएको छ ।
पहिरोका कारण सडक अवरुद्ध हुंदा व्यवसायीहरुद्वारा नेपालीहरुको महान चाड वडादशैंलाई समेत ध्यानमा राखी आयात गरिएका कतिपय उपभोग्य वस्तुहरु बीच बाटोमै अड्किएर रहंदा निकै ठूलो नोक्सानी भएको छ । अरघिनको राजमार्ग बन्द हुन जांदा मुलुकलाई पर्ने आर्थिक नोक्सानीको मूल्यांकन गरि क्षति भएको भागमा वैकल्पिक मार्ग निर्माण गरेर भएपनि अविलम्व राजमार्ग संचालनमा ल्याउन र पहिरो पिडित परिवारहरुको यथोचित व्यवस्थापनका लागि महासंघ नेपाल सरकारसंग आग्रह समेत गर्दछ ।