नेपाली निजी क्षेत्रले सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स. र मांखा गा.वि.स. को सिमाक्षेत्रको जुरे भन्ने स्थानमा गएको विनासकारी पहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै पहिरोका कारण बन्द रहेको अरनिको कोदारी राजमार्ग तत्काल खुलाउने पहल गर्न सरकारसंग आग्रह गरेको छ । जुरे पहिरोबाट कोदारी राजमार्गको केही भाग वगाउनुका साथै सुनकोशी नदी थुनिन जांदा उक्त क्षेत्र साउन १६ गते ठप्प रहन गएको छ । मुलुकलाई अन्तराष्ट्रिय सिमासम्म जोड्ने राजमार्ग वन्द हुंदा मुलुकmाई निकै ठूलो आर्थिक नोक्सानी समेत भैरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा निजी क्षेत्रबाट सो आग्रह गरिएको हो ।
पहिरोबाट थुनिएको सुनकोशी नदीमा वनेको तालबाट अहिले दैनिक २६५ क्यूसेक प्रतिसेकेण्ड पानी निस्किरहेकोमा त्यसलाई बढाएर दैनिक ३०० देखि ३५० क्यूसेक पानी वाहिर निकाल्न सकिएमा पुरिएको राजमार्ग माथि उठन गई राजमार्ग पुनरनिर्माण गर्न सकिने महासंघका अध्यक्ष प्रदीपजंग पाण्डले वताउनु भयो । निस्कने पानीको मात्रालाई बढाउन सकिएमा तालको सतह कमहुने, त्यहां भएका संरचना पानी वाहिर आउने र तीनलाई मर्मत गर्न सकिने र अत्यन्त कम समय र कम खर्चमा राजमार्ग सुचारु गर्न सकिने अध्यक्ष पाण्डेले वताउनु भयो । महासंघका अध्यक्षको नेतृत्वमा पदाधिकारीहरुको एक टोलीले हिजो पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण समेत गरेको थियो ।
मुलुकको अर्थतन्त्रसंग प्रत्यक्ष गांसिएको अरनिको र कोदारी राजमार्ग कसरी कुन उपायबाट छोटो समयमा सुचारु गर्न सकिन्छ, संभावित क्षतिलाई न्युन गरि पहिरो प्रभावितहरुलाई गांसवासको व्यवस्था गर्न सकिन्छ त्यसतर्फ राज्यको ध्यानाकर्षण गराउंदछौं अध्यक्ष पाण्डेले भन्नु भयो—निजी क्षेत्र सधै सरकारको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछौं । पहिरो पिडीतहरुको सहयोगार्थ महासंघका सदस्य संघ संस्थाहरुले पनि राहत संकलन गरिरहेका जानकारी गराउनु हुंदै अध्यक्ष पाण्डेले प्राकृतिक विपत्तिमा परेकाहरुको सहयोगार्थ महासंघले छुट्टै कोष स्थापना गरेको र नेउवामहासंघले आफ्नो कोषबाट पहिरो पिडीतहरुका लागि रु ३ लाख नगद सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।
सरकारको तथ्यांक अनुसार उक्त पहिरोमा परि हालसम्म १४३ जनाले ज्यान गुमाएका छन् । सयौं परिवार घरवार विहीन अवस्थामा छन् । सिंगो गाउंनै पुरिएको बगाएको अवस्था छ । करोडौं सम्पत्ति हुनेहरु अहिले सडकमा आएको अवस्था छ । विद्यालय पुररिएका छन् । राति सुतेकै अवस्थामा कलिला वालवालिका, वृद्धा वुवाआमालाई पहिराले वगाएको हृ्रदयविदारक घटना भएको छ । प्राकृतिक विपत्तिबाट हुन पुगेको यो अपुरणीय क्षतिप्रति निजी क्षेत्रले दुख व्यक्त गरेको छ ।
मानवीय नोक्सानीको करिव करिव एकहदसम्म एकिन भैसकेपछि अव प्रभावित वासिन्दाहरुको जीवनयापनको जोहो गर्ने र नास भएका भौतिक पूर्वाधारको निर्माण सहित त्यस क्षेत्रमा आर्थिक क्रियाकलाप पुन: सुरु गर्न निजी क्षेत्रले सरकारसंग आग्रह गरेको छ । राज्यका तर्फबाट अव एकिन तथ्यांकका आधारमा पिडीत परिवारहरुलाई उचित क्षतिपूर्ति हुन र सम्पूर्ण सम्पत्ति गुमाउनेहरुलाई न्यूनतम गांसवास र कपासको प्रवन्ध गर्न निजी क्षेत्रले आग्रह समेत गरेको छ ।
महासंघका अध्यक्ष पाण्डेले भन्नु भयो - महासंघ आफैले मुलुकभित्र प्राकृतिक विपत्तिपर्दा मानवीय सहयोगका लागि आफ्ना सवै संयन्त्रको प्रभावकारी परिचालन गर्दै आएको छ । यस्ता विपत्तिमा महासंघले अग्रभागमा रहेर मानवीय सहयोग गर्दै आएको छ । सिन्धुपाल्चोकको विपत्तिमा पनि सहयोगका लागि महासंघले त्यस क्षेत्रमा रहनु भएका कार्यकारिणी समिति सदस्यहरु, सदस्य उवासंघहरु, उद्योग प्रतिष्ठानहरु सवैलाई सहयोगका लागि परिचालन गरयो ।
मुलुकलाई उत्तरी छिमेकी चीनसंग जोड्ने मार्गनै अवरुद्ध हुन गएको छ । यसले उत्तरतर्फको अन्तराष्ट्रिय सिमानासम्मको पहुंच एक प्रकारले टुटेको छ । त्यसबाट राज्यलाई दैनिक २ देखि ५ करोडसम्मको राजश्व नोक्सानी भैरहेको छ भने अप्रत्यक्ष नोक्सानीको कुनै लेखाजोखानै छैन । नेपाल घुम्न आउने चिनियां पर्यटकहरुले प्रयोग गर्ने र नेपाल हुंदै चीन जाने पर्यटकहरुले प्रयोग गर्ने कोदारी राजमार्गनै बन्द हुंदा नेपालको पर्यटन वजार नराम्ररी प्रभावित भएको छ । सम्बन्धित पक्षबाट प्राप्त जानकारी अनुसार यस नाकाबाट सालाखाला दैनिक १५ करोड रुपैयां वरावरको ५० ट्रक सामान आयात निर्यात हुने गर्दथ्यो ।
त्यस क्षेत्रमा रहेका विद्युत उत्पादन गृहहरु टाकु, भैरवकुण्ड, भोटेकोशीको प्रशारण लाइन क्षति हुन गएको र सानीमा हाइड्रो पूर्ण रुपमा डुव्दा विद्युत उत्पादन बन्द भएको अवस्था छ । यसबाट मुलुकलाई ६७ मेगावाट विद्युत घाटा भैरहेको छ । त्यसको प्रत्यक्ष असर अन्य औद्योगिक क्षेत्रमा पनि पर्न गएको छ । त्यसको नोक्सानीको कुनै लेखाजोखानै छैन ।
सडक अवरुद्ध हुंदा लाखौं मानिसहरुले दु:ख पाइरहेका छन् । यसको असर नेपालको तातोपानी भंसार नाकासम्म परेको छ । पहिरो आई सुनकोशी थुनिनजांदा वनेको तालको पानीका कारण वाह्रविसे वजार र तल्लो तटीय क्षेत्रका वासिन्दाहरु जोखिममा छन् । अरनिको साथै कोदारी राजमार्ग बन्द भई तातोपानी भंसार कार्यालय वरपर सयौं मालवाहक कन्टेनरमा करोडौंको सामान रोकिएको अवस्था छ । ती मध्ये केहीमा रहेका स्याउ, नास्पाती जस्ता फलफूलहरु कुहिन थालेको बताइएको छ । राजमार्ग बन्द हुंदा व्यवसायीहरुद्वारा नेपालीहरुको महान चाड वडादशैंलाई समेत ध्यानमा राखी आयात गरिएका कतिपय उपभोग्य वस्तुहरु बीच बाटोमै अड्किएर रहंदा व्यापारमा संलग्नहरुलाई निकै ठूलो नोक्सानी भएको पत्रकार सम्मेलनमा बताइयो । अप्रत्यक्ष रुपमा आयात निर्यात व्यवसायमा ऋण लगानी गर्ने वैंकहरुलाई समेत यसबाट ठूलो नोक्सानी हुने देखिन्छ । केहि दिनमानै उक्त नाका संचालनमा ल्याउन नसके वजारमा उपभोग्य वस्तुहरु लत्ताकपडाको अभाव हुन गई त्यसको असर आम उपभोक्तामा पर्न जाने पत्रकार सम्मेलनमा वताइयो ।
पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष किशोर प्रधान, शेखर गोल्छा, महासंघको मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष अरुणराज सुमार्गी, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमल कुमार श्रेष्ठ, नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष निलकण्ठ चौलागाई, स्वतन्त्र उर्जा उत्पादक संघका कोषाध्यक्ष नरेन्द्र प्रजापति, नेपाल ट्रक कन्टेनर व्यवसायी संघका उपाध्यक्ष शम्भु वहादुर तिमिल्सिनाले पहिरो पीडितहरुलाई उचित व्यवस्थापन सहित, नेपाललाई उत्तर चीनसंग जोड्ने मार्गलाई यथाशीघ्र संचालन गर्ने, पहिरोले नदी थुनिई वन्न गएको ताललाई जतिसक्दो छिटो खोल्नु पर्ने, अवरुद्ध विद्युत आयोजना सुचारु गर्न सहयोग गर्नुपर्ने लगायतका सुझावहरु राख्दै तालको पानी कम गर्दै हाल पहिरोले पुरिएको राजमार्गनै संचालन गर्दा सवैभन्दा कम खर्चिलो सवै भन्दा कम समयमा संचालनमा ल्याउन सकिने वताउनु भयो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु, पहिरो प्रभावित क्षेत्रका उद्योग वाणिज्य संघका पदाधिकारीहरु, संचारकर्मीहरुको उपस्थिति थियो ।