नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले तनहुँ उद्योग वाणिज्य संघ आँवुखैरेनी बजार इकाई समितिद्वारा तनहुँको आँबुखैरेनीे बजारमा आयोजना गरिएको "आँबुखैरेनी महोत्सव" को आज एक समारोहका बीच समुद्घाटन गर्नुभयो ।
सो समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि अध्यक्ष पाण्डेले स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा यस्ता महोत्सवले सघाउनुको साथै स्थानीय क्षेत्रको आर्थिक व्यवसायिक विकासमा महोत्सव सहयोगी हुने विश्वास प्रकट गर्नुभयो ।
अध्यक्ष पाण्डले मेला महोत्सवको आयोजनाबाट स्थानीय क्षेत्रमा लगानीयोग्य क्षेत्रको पहिचानका साथै स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गराउन सघाउ पुऱ्याउने हुंदा महासंघले आफ्ना सवै सदस्यहरुलाई मेला महोत्सवको आयोजनामा विशेष सहयोग गर्दै आएको वताउनु भयो । महासंघ आफैले गर्ने अन्तराष्टियस्तरको मेला र स्थानीय स्तरमा सदस्य संघहरुबाट आयोजना भएका मेला महोत्सवबाट नेपालको प्रवद्र्धनमा सघाउ पुगेको पनि वताउनु भयो ।
तनहुं उद्योग वाणिज्य संघका अध्यक्ष देवकुमार श्रेष्ठ, डिएसपी गोपीमान श्रेष्ठ सहितले महोत्सव समुद्घाटन समारोहमा शुभकामना मन्तव्य दिनु भएको थियो । यस क्षेत्रको "हाम्रो पहिलो आधार, संस्कृतिको संरक्षण कृषि, उद्योग र व्यापार हाम्रो पूर्वाधार" भन्ने मूल नारा रहेको महोत्सव स्थानीय कला संस्कृति र आर्थिक विकासका लागि सहयोगी हुने विश्वास गरिएको छ । साउन २९ देखि भाद्र ७ गतेसम्म संचालन हुने महोत्सवमा विभिन्न १२५ वटा स्टल मार्फत स्थानीय कला, संस्कृति, उद्योग व्यवसाय, औद्योगिक उत्पादनको प्रर्दशनी गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ आँवुखैरेनी बजार इकाई समितिका अध्यक्ष सुनिल मल्लको सभापतित्वमा समुद्घाटन कार्यक्रम आयोजना भएको थियो ।