नेपालबाट झण्डै १० बर्ष भन्दा अघिबाट सुपारीको निर्यात हुन थालेको हो । सुपारी निर्यातका लागि २०६० सालमा नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सुपारी खेती विकास संस्था, केन्द्रीय कार्यालय, शनिश्चरे, झापाको सिफारिशमा हप्तामा २ ट्रक र २०६१/५/३१ गतेबाट हप्तामा ४ ट्रक निर्यात गर्न दिन भन्सार विभागलाई लेखि पठाएको हो । महासंघले नेपाल सुपारी खेती विकास संस्थाको सिफारिशमा आफ्ना सदस्य संघलाई उत्पत्तिको प्रमाण पत्र जारी गर्न निर्देशन दिने गरेको जगजाहेर छ । २०६८/१२/२० मा नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयले “नेपालमा उत्पादन भई विदेशमा निकासी हुने सुपारीको उत्पत्तिको प्रमाण पत्र जारी गर्ने व्यवस्था सम्बन्धी कार्यविधि २०६८” जारी गरेको थियो ।
सो कार्यविधि २०६८ को प्रकरण ३ को २ मा “नेपालमा उत्पादन भई विदेशमा निकासी हुने सुपारीको उत्पत्तिको प्रमाण पत्र जारी गर्दा नेपालमा सुपारी खेती विकास गर्ने उद्देश्यले स्थापित उत्पादकहरुको आधिकारिक संस्थाको सिफारिशमा गर्नु पर्ने छ । कुनै जिल्लामा एक भन्दा बढी यस्तो संस्था दर्ता भै क्रियाशील रहेको भएमा सुपारी खेतीमा आबद्ध कृषकहरुको आधिकारिक संस्थालाई प्राथमिकता दिइने छ । एक भन्दा बढी संस्था स्थापना भै क्रियाशील रहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले आवश्यक व्यवस्था मिलाउने छ ।” भन्ने उल्लेख छ ।
महासंघका पदाधिकारी समेतको समुपस्थितिमा २०६९/८/११ मा नेपाल सुपारी खेती विकास संस्था, सुपारी खेती विकास संस्था, झापा जिल्ला समिति र नेपाल सुपारी उत्पादन तथा व्यवसायी संघका पदाधिकारीहरुको बैठकले नेपाल सुपारी खेती विकास संस्थालाई मूल संस्थाको रुपमा पहिचान गरेको र सोही संस्थाको सिफारिशलाई निरन्तरता दिने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयको पत्रबाट मोरङ्गमा उत्तरी मोरङ्ग सुपारी खेती विकास संस्था क्रियाशील रहेको र मोरङ्ग सुपारी खेती विकास संस्था सुसुप्त अवस्थामा रहेको भनी लेखि आएको आधारमा २०६८/६९ बाट उत्तरी मोरङ्ग सुपारी खेती विकास संस्थाको सिफारिशमा उत्पत्तिको प्रमाण पत्र जारी गर्ने व्यवस्था मिलाएको हो । उक्त उल्लेखित संस्थाहरुले किसानको सुपारी खरिदको व्यवस्था नमिलाएर किसानको उत्पादननै खेर गएको भन्ने उजुरी समेत आजसम्म कसै र कतैबाट पर्न नआएको महासंघ स्पष्ट पार्दछ ।
हाल आएर झापा जिल्लामा दर्ता भएका राष्ट्रिय सुपारी खेती प्रबद्र्धन एवं कृषि विकास संघ नेपाल, विर्तामोड र अनारमनी फलफूल नगदेवाली तथा सुपारी विकास संस्था, विर्तामोड, नमुना झापा सुपारीबाली विकास संस्था, झापा सुपारी बाली विकास संस्था, झापा, विराट अर्जुन सुपारी उत्पादक तथा व्यवसायी संघ समेतले नेपालमा उत्पादित सुपारी भारत निकासीका लागि सिफारिश गरिपाउन निवेदन दिएका हुन । त्यस्तै मोरङ्ग जिल्लामा हाल आएर मोरङ्ग जिल्लामा दर्ता भएका पूर्वाञ्चल फलफूल तथा सुपारी खेती विकास संस्था, मधुमल्ला र कोशी फलफूल खेती प्रबद्र्धन विकास संस्था समेतले मोरङ्ग जिल्लामा उत्पादित सुपारी भारत निकासीका लागि सिफारिश गरिपाउन निवेदन दिएको । यी सबै संस्थाहरु विगत दुईतीन महिना अघिमात्र जिल्ला कार्यालयमा दर्ता भएका र हालसालै आएर मात्र महासंघमा सिफारिशको अधिकार माग गरी निवेदन दर्ता गराएका हुन । नयां दर्ता भएका संस्थाहरुले सुपारी खेती विकासका लागि ठोस कार्य गरेको प्रमाण पेश नगरेको महासंघ स्पष्ट पार्दछ ।
महासंघले मिति २०७१/५ मा गत वर्षमा भएको पुरानै निर्णयहरुलाई निरन्तरता दिंदै सिफारिश गर्ने संस्थाले नेपालमा उत्पादन भएको कृषकको सुपारी उत्पादन खरिद गर्ने व्यवस्था नमिलाएमा संस्थामाथि कार्वाही गरी सिफारिशको अधिकारबाट बञ्चित गर्ने गरी विगतमा सिफारिश गर्ने अधिकार पाएका नेपाल सुपारी खेती विकास संस्था र उत्तरी मोरङ्ग सुपारी खेती विकास संस्थाको सिफारिशमा नै उत्पत्तिको प्रमाण पत्र जारी गर्न सदस्य संघलाई निर्देशन दिएको हो । यस महासंघबाट मिति २०७१/५/९ मा जारी गरिएको पत्रमा पनि झापा तथा मोरङ्ग जिल्लामा उत्पादित नेपाली सुपारी संपूर्ण प्रक्रिया पुर्याई उक्त सस्थाले खरिद गर्ने व्यवस्था नमिलाएमा वा सरकारको नीति नियम विपरित कार्य गर्ने गरेमा कार्वाही गर्ने गरी निर्णय भएको महासंघ स्पष्ट पार्दछ । यस सम्बन्धमा तथ्यमा आधार नभएका कपोलकल्पित एवं भ्रामक समाचारहरुको खण्डन गर्दै यस सम्बन्धमा कुनै कुरा बुझ्न परेमा महासंघको सचिवालयमा यथाशीघ्र सम्पर्क गर्न समेत महासंघको अनुरोध छ ।