बंगलादेशको ढाकामा अवस्थित नेशनलडिफेन्स कलेजका प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसंग भेटघाट गरी नेपालको आर्थिक अवस्था बारे जानकारी हासिल गर्नुका साथै दुई देश बीचको आर्थिक सम्बन्धका विषयमा छलफल गरेको छ ।
नेपाल डिफेन्स कलेजका प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आइरहेको बताउनु हुदै निजी क्षेत्रमा पनि अर्थतन्त्रप्रति आत्मविश्वास बढ्दै गएको बताउनु भयो । उहांले हालै सफलता पूर्वक सम्पन्न भएको भारतीय प्रधानमन्त्रीको भ्रमणले नेपालमा सकारात्मक उर्जा विस्तार गरेको र हालै भारतसंग भएको उर्जा व्यापार सम्झौताको प्रारम्भिक हस्ताक्षरले नेपालमा जलविद्युत क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।
उपाध्यक्ष श्रेष्ठले नेपाल र बंगलादेश बीच व्यापार तथा लगानी विस्तारका निकै संभावना रहेको बताउनु हुदै दुई देश बीचको आर्थिक सम्बन्ध विस्तारका लागि महासंघ सहयोग गर्न तत्पर रहेको दृढ विश्वास दिलाउनु भयो ।
प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका बंलगादेशका लेफ्टिनेन्ट जनरल मोल्लाहफाज्लि अक्बर (Lieutenant General MollahFazle Akbar) ले नेपाल बंगलादेशको एकदमै महत्वपूर्ण छिमेकी र मित्रराष्ट्र भएको बताउनु हुदै नेपालको आर्थिक वातावरणका विषयमा अध्ययन गर्न आफ्नो नेतृत्वमा यो प्रतिनिधिमण्डल आएको बताउनु भयो । उहांले नेशनलडिफेन्स कलेजको बारेमा जानकारी दिदै नेपाल र बंगला देशबीच आर्थिक सम्बन्ध विकासका प्रशस्त संभावना रहेको बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका सभापति एवं कार्यकारिणी समिति सदस्य भवानी राणा, प्रकाशगिरी र केशवपाण्डे समेतको सहभागिता रहेको कार्यक्रममा महासंघका महानिर्देशक डा. हेमन्त दवाडीले नेपालको आर्थिक वातावरण र नेपाल बंगलादेश बीचको आर्थिक सभाव्यताका विषयमा प्रस्तुति गर्नु भएको थियो ।