सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स. र मांखा गा.वि.स. को सिमाक्षेत्रको जुरे भन्ने स्थानमा गत साउन १६ गते गएको विनासकारी पहिरोबाट अवरुद्ध अरनिको, कोदारी राजमार्गलाई जोड्ने गाँडखोलाबाट ड्यामसाइडसम्मको वैकल्पिक मार्गको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले आज एक कार्यक्रम बीच सिन्धुपाल्चोकको गाँडखोलामा उद्घाटन गर्नुभयो । आजैबाट उक्त राजमार्ग सुचारु भएको छ ।
महासंघको सदस्य सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नेतृत्वमा नेपाल हिमालय सिमापार वाणिज्य संघ तथा अन्य संघ संस्थाहरु नेपाल ट्रक कन्टेनर व्यवसायी संघ, मध्यभोटेकोशी पावर कम्पनीको पहलमा लगभग १ महिनाको प्रयासपछि खोलिएको उक्त वैकल्पिक मार्ग करिव साढे दुई किलोमिटर लामो र ५ देखि ७ मिटर फराकिलो छ ।
पहिरोबाट अरनिको राजमार्गको केही भाग समेत बग्न जांदा उक्त क्षेत्र सडक सम्पर्कबाट पूर्णरुपमा विच्छेद थियो । पहिरोका कारण सडक अवरुद्ध हुंदा व्यवसायीहरुद्वारा नेपालीहरुको महान चाड वडादशैंलाई समेत ध्यानमा राखी आयात गरिएका कतिपय उपभोग्य वस्तुहरु लामो समय बीच बाटोमै अड्किएर रहंदा व्यवसायीलाई निकै ठूलो आर्थिक नोक्सानी भएको थियो भने राज्यले दैनिक २ करोडभन्दा बढी राजश्व गुमाइरहेको थियो ।
राजमार्ग जोड्ने वैकल्पिक मार्गको उदघाटन गर्नुहुंदै प्रमुख अतिथि महासंघका अध्यक्ष पाण्डेले निजी क्षेत्रले राज्यलाई विपत पर्दाका वखत गरेको यो सहयोग निकै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले अवरुद्ध राजमार्ग संचालनमा ल्याउन स्थानीय उवासंघहरुको लामो प्रयास र साहसको प्रशंसा समेत गर्नुभयो । प्रमुख व्यापारिक नाका तातोपानीलाई जोड्ने अरनिको कोदारी राजमार्ग निकै लामोसमयसम्म अवरुद्ध हुंदा राज्यलाई निकै ठूलो आर्थिक नोक्सानी भैरहेको वेला निजी क्षेत्रको पहलमा राजमार्ग संचालनमा आउंदा सवैमा राहत महसुस भएको उहांले बताउनु भयो ।
उद्योगी व्यवसायीहरु नाफा कमाउने मात्र नभएर सामाजिक उत्तरदायित्वमा समेत सचेत रहेको बताउनुहुंदै अध्यक्ष पाण्डेले दशैंको मुखमा महंगीको मारबाट जनतालाई जोगाउने सामाजिक उत्तरदायित्व निजीक्षेत्रले आत्मसात गरेको छ, अध्यक्ष पाण्डेले भन्नुभयो - ‘धनगढी विमानस्थल र देशका अन्य भागमा पूर्वाधार निर्माणमा निजीक्षेत्रले ठूलो भूमिका खेलेको छ । जुरेको पछिल्लो सफलतालाई हामी पूर्वाधार विकासमा रुपान्तरण गर्न चाहन्छौं ।’ प्रमुख अतिथि अध्यक्ष पाण्डेले व्यवसायीहरुको पुनीत कर्मले जनताको दैनिकी सहज हुनुकासाथै जोखिममा परेको व्यवसायीको अरबौं जोगिएको बताउनु भयो ।
महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले दशैंको सामान बाटोमा अडकिंदा उपभोक्ताहरु कालोबजारीको मारमा पर्ने त्रासबाट मुक्ति पाएको बताउनु भयो । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष निलकण्ठ चौलागाईंले खुलेको सडकको सम्पूर्ण सुरक्षा र स्वामित्व सरकारले लिनुपर्ने बताउनुभयो ।
महासंघका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमल श्रेष्ठ, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य एवं सिन्धुपाल्चोक उवासंघका निवर्तमान अध्यक्ष विष्णुवहादुर खत्री, नेपाल हिमालय सिमापारी वाणिज्य संघका अध्यक्ष निलकण्ठ चौलागाई, संचारकर्मीहरु, स्थानीय वासिन्दाहरुको सो अवसरमा उपस्थिति थियो । बाटो निर्माणमा निजीक्षेत्रबाट महासंघका पूर्व कार्यकारिणी समिति सदस्य विष्णुकुमार खत्रीको संयोजकत्वमा वैकल्पिक अरनिको राजमार्ग निर्माण समिति गठन भएको थियो ।