नेपाली उद्यमी व्यवसायी र नेपाल भ्रमणमा आएको जनवादी गणतन्त्र चीनको युनान प्रान्तको आर्थिक प्रतिनिधिमण्डल बीच आज नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा आज व्यवसायिक भेटवार्ता सम्पन्न भयो । सो अवसरमा महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले युनान प्रान्तको वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई (Mr. Yang Hui, Deputy Director General of the Department of Commerce of Yunnan Province) को नेतृत्वमा नेपाल भ्रमणमा आएको १६ सदस्यीय चिनियाँ आर्थिक प्रातिनिधिमण्डललाई महासंघ सचिवालयमा स्वागत गर्नुभयो ।
चीनको सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरु सम्मिलित चिनियाँ आर्थिक प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष पाण्डेले द्विपक्षीय आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारमा नेपाल उद्योग वाणिज्य महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र प्रत्येक वर्ष युनान प्रान्तको कुनमिङमा आयोजना हुंदै आएको चीन दक्षिण एशियाली व्यवसायिक फोरममा महासंघको सक्रिय सहभागिताबाट आपसी आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारलाई थप परीणामदायी बनाउन सहयोग पुगेको बताउनु भयो ।
द्विपक्षीय व्यापार घाटा कम गर्न नेपालमा चिनियां लगानीको खांचो रहेको अध्यक्षको जोड थियो । यसका लागि नेपालमा तुलनात्मक लाभका क्षेत्र र लगानीका सवैभन्दा वलिया र प्राथमिकता प्राप्त क्षेत्रको रुपमा पहिचान गरिएका जलविद्युत, पर्यटन, सेवा क्षेत्रमा लगानी गर्न चिनियाँ प्रतिनिधिमण्डल समक्ष अध्यक्ष पाण्डेले आग्रह गर्नुभयो ।
चीन सरकारबाट ७,७८६ नेपाली वस्तुहरुको निकासीमा दिइएको भंसार छुटको सुविधालाई नेपाली निजी क्षेत्रले भरपुर उपयोग गर्ने विश्वास दिलाउंदै अध्यक्ष पाण्डेले नेपालको चीनसंगको व्यापार विस्तारका लागि सरल वैकिङ सुविधा, व्यापार सहजीकरणका लाागि पूर्वाधार विकास, सुविधासम्पन्न भंसार नाकाहरुको व्यवस्था, चीनमा खपत हुने वस्तुहरुको पहिचान सहित नेपालमा संयुक्त लगानीमा उत्पादन विस्तार, नेपाली उत्पादनलाई चीनमा गुणस्तर मान्यता दिनु पर्ने लगायतमा जोड दिनुभयो । अध्यक्ष पाण्डेले महासंघको आयोजनामा आगामी फागुनमा काठमाडौंमा हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन सो अवसरमा चिनियां प्रतिनिधिमण्डललाई निम्तो समेत दिनुभयो ।
सो अवसरमा उपमहानिर्देशक याङ हुई (Mr. Yang Hui, Deputy Director General of the Department of Commerce of Yunnan Province) ले नेपालको विकास प्रयासमा आफूहरुले सदैव सहयोग गर्ने आश्वासन दिंदै दुई देशका व्यवसायीहरु बीच आपसी सम्बन्ध विस्तार, निरन्तर सूचना तथा सम्पर्क आदान प्रदान, व्यवसायिक भेटवार्ता, संयुक्त लगानीका सम्भाव्य परियोजनाहरुको जानकारी उपलव्ध गराई चिनियां लगानी आकर्षणका लागि वातावरण वनाउन आग्रह गर्नुभयो । उहांले नेपालको उर्जा विकासको प्रयासमा सहयोग गर्ने आश्वासन समेत दिनु भयो ।
स्वागत मन्तव्यका क्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल र युनान प्रान्त बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका लागि भएका आपसी प्रयासलाई सफल र परिणामदायी बनाउन निरन्तर यस प्रकारका भेटघाट, बैठक तथा छलफलमा जोड दिनु भयो ।
सो अवसरमा महासंघको उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले उर्जामा लगानी विषयमा कार्यपत्र प्रस्तुत गर्दै उर्जामा लगानीका लागि अहिले सवैभन्दा सूनौलो समय भएको स्पष्ट पार्नु भयो । नेपालमा उत्पादित उर्जा दक्षिण एशियाका भारत, वंगलादेश लगायतका देशमा सहज निर्यातको सम्भाव्यता रहेको र नेपाल सरकारबाट समेत जलविद्युतमा लगानी गर्नेलाई कर छुट लगायतका सुविधा दिइएकाले यो समय नेपालमा उर्जामा लगानीका लागि सवैभन्दा उपयुक्त भएको बताउनु भयो ।
प्रतिनिधिमण्डलमा चिनियां सरकारको आर्थिक तथा वाणिज्य क्षेत्र जस्तो उर्जा लगानी समूह, आयात निर्यात, विमा समूह र त्यहांको निजीक्षेत्रका व्यवसायीहरु सिनोहाइड्रो व्यूरो (Sinohydro Bureau), चाइना कुनमिङ इन्जिनियरिङ कर्पोरेशन (CHINA Kunming Engineering Corporation), चाइना युनान सन्नी रोड एण्ड व्रीज कम्पनी लि. (China Yunnan Sunny Road & Bridge Co.), युनान कन्सट्रक्शन इन्जिनियरिङ कम्पनी लिमिटेड (Yunnan Construction Engineering Group Co. Ltd) र प्रोभिन्सियल इनर्जी इन्भेष्टमेन्ट ग्रुप कम्पनी लि (Yunnan Provincial Energy Investment Group Co. Ltd) को प्रतिनिधित्व रहेको थियो ।