नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले सामाजिक सुरक्षा ऐन, श्रम ऐन, औद्योगिक व्यवसाय ऐन जस्ता ऐनहरु आएपछि मुलुकमा लगानीको वातावरण बन्ने बताउनु भएको छ । यी ऐनहरु निकै अगाडी बढी सकेकाले अव मुलुकमा औद्योगिक वातावरण बन्नेमा निजी क्षेत्र विश्वस्त रहेको अध्यक्ष पाण्डेले आज सुर्खेत उद्योग वाणिज्य संघको एक कार्यक्रमलाई संवोधन गर्दै वीरेन्द्रनगरमा बताउनु भयो ।
सुर्खेत उवासंघको ३१ औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आशनबाट संवोधन गर्नुहुंदै अध्यक्ष पाण्डेले आर्थिक विकासका लागि आवश्यक ऐन कानून सहित शान्ति सुरक्षा तथा उर्जाको उचित व्यवस्था गर्न अध्यक्ष पाण्डेले आग्रह समेत गर्नुभयो । तीनवर्षभित्र मुलुकबाट लोडसेडिङको अन्त्य गर्ने दलहरुको प्रतिवद्धतालाई सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाउनु हुंदै अध्यक्षले यसका लागि काम गर्न एकमिनेट पनि ढिलो गर्न नहुने बताउनु भयो । नेपाल र भारत बीच हालै सम्पन्न विद्युत व्यापार संझौता(पीटीए) ले मुलुकभित्र उर्जा विकासको वाटो खोलेको धारणा उहांको थियो ।
मध्यपश्चिम विकास क्षेत्र प्राकृतिक श्रोत र सम्पदाको हिसावले सम्पन्न भएकाले यस क्षेत्रको विकासका लागि उचित योजनाको आवश्यकतामा जोड दिनु भयो । अध्यक्ष पाण्डेले यसका लागि नेतृत्व लिन सुर्खेत उवासंघलाई आग्रह गर्नुहुंदै त्यसमा महासंघले आवश्यक सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो । उहांले मुलुकको निर्यात व्यापार अत्यन्त निराशाजनक भएकाले निर्यात बढाउने तर्फ समग्र राज्यको ध्यान जानुपर्ने वताउनु भयो ।
औद्योगिक विस्तार गरि रोजगारी सृजनाका माध्यमबाट मुलुकलाई समृद्धि तर्फ लैजान जोड दिंदै उचित वातावरण भएमा मुलुकलाई सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट उकास्ने सरकारी लक्ष्यलाई पुरा गर्न कुनै कठिनाई नहुने उहांको दावी थियो ।
कार्यक्रममा महासंघको कार्यकारिणी समिति सदस्य निरक केसी, नेपालगंज र दैलेख उद्योग वाणिज्य संघका अध्यक्षहरु शुभकामना मन्तव्यदिनु भएको थियो । संघका अध्यक्ष पदम बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद खरेल, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।