ट्रक व्यवसायीहरुले वीरगंज र भैरहवा नाकामा हिजोदेखि विभिन्न माग राखी अनिश्चितकालका लागि ढुवानी सेवा ठप्प पारेको भन्ने समाचारप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
आफ्ना मागहरु सम्बन्धित निकाय समक्ष राखेर पर्याप्त छलफल गरि वार्ता र संवादद्वारा नै समस्या समाधान गर्नुपर्नेमा ढुवानी व्यवसाय जस्तो संवेदनशील व्यवसायलाई हठात एकतर्फी रुपमा ठप्प पार्नु कुनै पनि हिसावले तर्क संगत मान्न सकिदैन । उद्योग व्यवसायको प्रतिस्पर्धात्मक क्षमता निर्धारण गर्न ढुवानीको ठूलो भूमिका छ र यो व्यवसायलाई व्यवस्थित र मर्यादित पार्ने कुरामा महासंघको सधैनै समर्थन रहेको छ ।
अत: आफ्ना जायज मागलाई सरकारको सम्बन्धित निकायमा राखेर वार्ता र संवादबाटै समस्या समाधान गर्न आग्रह गर्दै बन्द गरिएको ढुवानी व्यवसाय अविलम्व सुचारु गर्न महासंघ सम्बन्धित पक्षसंग अनुरोध गर्दछ ।
महासंघ सधैनै खुला प्रतिस्पर्धात्मक बजारको पक्षपाति रहेको सन्दर्भमा भाडा बजारबाटनै निर्धारित हुनुपर्दछ भन्ने मान्यता राख्दछ । साथै जोरविजोर, आलोपालो जस्ता सिण्डिकेट प्रथाको खारेजी गर्न र यातायातको निर्वाध संचालनको वातावरण वनाईदिन महासंघ सरकारसंग जोडदार माग गर्दछ ।