नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु र व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति सहित समितिका सदस्य सभासदहरु बीच मुलुकको आर्थिक विकास, लगानीको वातावरण निर्माण लगायतका विषयमा आज संसद सचिवालय सिंहदरवारमा छलफल भयो । समितिका सभापति भिष्मराज आङदेम्वेको सभापतित्वमा सम्पन्न छलफलमा महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे, उपाध्यक्ष दिनेश श्रेष्ठ, उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, कार्यकारिणी समिति सदस्य अशोक तोदी र महानिर्देशक हेमन्त दवाडीले भाग लिनु भएको थियो ।
छलफलको प्रारम्भमा समितिका सभापति आङदेम्वेले व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको कार्यक्षेत्र, उद्देश्य र गतिविधि वारे निजी क्षेत्रलाई जानकारी गराउने र निजी क्षेत्रले गरीरहेका आर्थिक गतिविधिहरु समितिलाई जानकारी गराउने र मुलुकको आर्थिक विकासमा समितिले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा निजी क्षेत्रसंग छलफल गर्ने र सुझाव लिने उेद्दश्यले बैठक आयोजना गरिएको जानकारी गराउनु भयो । समिति सभापतिले मुलुकभित्र लगानीमैत्री वातावरण निर्माणका लागि आफ्नो समितिले सरकार, संसद र निजी क्षेत्र बीच पुलको काम गर्ने विश्वास पनि दिलाउनु भयो । उहांले यस प्रकारको छलफल कार्यक्रम महासंघसंग नियमित गर्दै जाने र निजी क्षेत्रको सुझाव अनुसार मुलुकभित्र लगानीमैत्री वातावरण निर्माणका लागि समितिका तर्फबाट निर्वाह गर्नुपर्नेे भूमिकाका लागि सदैव लाग्ने विश्वास समेत दिलाउनु भयो ।
सो अवसरमा महासंघका तर्फबाट धारणा राख्नेक्रममा अध्यक्ष पाण्डेले समितिको यस प्रकारको प्रयासको सराहना गर्नुहुंदै यसको निरन्तरताको कामना गर्नुभयो । अध्यक्ष पाण्डेले यतिखेर आम नेपाली जनतासंगै निजी क्षेत्रले पनि निर्धारित समयभित्रै संविधान निर्माण हुनुपर्ने माग गरिरहेको स्पष्ट पार्नुभयो । समयमा संविधान आउन सकेमा मुलुक संक्रमणकालबाट उन्मुक्त भई आर्थिक विकास तर्फ अगाडी बढ्न सक्ने स्पष्ट पार्नुहुंदै निर्धारित समयमै संविधान निर्माण निजी क्षेत्रको प्रमुख चासो रहेको दोहोऱ्याउनु भयो । अध्यक्ष पाण्डेले लगानी प्रवद्र्धन गर्न लगानीको वातावरण वन्नुपर्ने, औद्योगिक व्यवसाय ऐन लगायत निजी क्षेत्रसंग सम्बन्धित केही महत्वपूर्ण ऐनहरु शीघ्र ल्याउन पहल हुन सुझाव दिनु भयो । नेपालमा कुनै पनि काम समयमा सम्पन्न नगर्ने परिपाटि मौलाउंदै गएको तर्फ चिन्ता प्रकट गर्नुहुंदै अध्यक्ष पाण्डेले “टाइम वण्ड“ भित्र काम गर्ने परिपाटीको विकास गर्नुपर्ने धारणा राख्नु भयो ।
नीतिको स्थिरता सवैभन्दा महत्वपूर्ण रहेको वताउनु हुंदै अध्यक्षले मन्त्री फेरिने वित्तिकै नीति फेरिने परिपाटीको अन्त्य हुनु पर्ने सुझाव राख्नु भयो । औद्योगिक व्यवसाय ऐनको अभावमा औद्योगिक विकासमा समस्या परेको स्पष्ट पार्नुहुंदै अध्यक्ष पाण्डेले उक्त ऐन तत्काल ल्याउन समितिबाट पहल हुन जोड दिनु भयो । औद्योगिक विकास तथा लगानी आकर्षणका लागि राजनीति र नीतिगत स्थिरता र औद्योगिक पूर्वाधारको कमी मुख्य समस्या रहेको अध्यक्षले स्पष्ट पार्नुभयो । छलफलमा महासंघका तर्फबाट आर्थिक विकासका लागि केही महत्वपूर्ण ऐनहरु जस्तो विदेशी लगानी सम्बन्धी कानून, नयां श्रम ऐन, विशेष आर्थिक क्षेत्र सेज लगायतका कानूनहरु तत्काल ल्याउन पहल हुन पनि समिति समक्ष आग्रह भयो । साथै व्यवसायिक कृषि विकास, पर्यटन, पूर्वाधार निर्माण, जलविद्युत विकास, स्वदेशी वस्तुको अनिवार्य प्रयोग, श्रम लचकता लगायतका विषयमा पनि सो अवसरमा छलफल भयो । कृषि उत्पादनमा विस्तारै परनिर्भरता बढ्दै गएको तर्फ चिन्ता प्रकट गर्दै आर्थिक विकासको मुख्य समस्याको रुपमा देखापरेको हरेक क्षेत्रमा राजनीतिको अन्त्य हुनुपर्ने सुझाव महासंघको तर्फबाट सो अवसरमा दिइयो ।
सो अवसरमा समितिका सदस्य सभासदहरु नगेन्द्र प्रसाद थारु, अन्नत पौडेल, वृन्दादेवी, सुरेन्द्र जैसवाल र शान्ता मानवीले महासंघका अध्यक्ष समक्ष विभिन्न जिज्ञासाहरु राख्दै समिति र निजी क्षेत्र बीचको छलफल निकै सकारात्मक भएको र यसको निरन्तरतामा जोड दिनु भयो ।