नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे एवं पदाधिकारी र दक्षिण अफ्रिकाका लागि नवनियुक्त नेपाली राजदूत अमृतबहादुर राई बीच दक्षिण अफ्रिकामा नेपालको प्रवद्र्धन तथा नेपालमा दक्षिण अफ्रिकाको लगानी तथा प्रविधि आकर्षणका विषयमा छलफल भयो ।
महासंघ सचिवालयमा सम्पन्न भेटवार्तामा उर्जा क्षेत्रमा दक्षिण अफ्रिका अनुभवी राष्ट्र भएकाले नेपालको उर्जा उत्पादनमा त्यहांको अनुभव आकर्षण गर्न कुटनीतिक तहबाट पहल हुनुपर्नेमा जोडदिइयो । आर्थिक कुटनीतिका माध्यमबाट उर्जा उत्पादनमा दक्षिण अफ्रिकाको अनुभव आदान प्रदान र लगानी आकर्षणमा नेपाली दूतावासको सक्रिय पहलको अपेक्षा पनि बैठकमा गरियो । भेटवार्तामा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, अन्तराष्ट्रिय तथा गैर आवासीय नेपाली समितिका सभापति चन्द्रप्रसाद ढकाल, महानिर्देशक डा. हेमन्त दवाडीको सहभागिता थियो ।
उर्जा सहयोगका लागि सार्क ढांचा सम्झौता र नेपाल भारत बीच सम्पन्न विद्युत व्यापार सम्झौताले उर्जा विकासका लागि ढोका खुला भएकाले नेपाल र दक्षिण अफ्रिका बीच नेपालको उर्जा विकासमा के कसरी सहकार्य गर्न सकिन्छ नवनियुक्त राजदूतबाट पहल हुन पनि सो अवसरमा महासंघको तर्फबाट आग्रह गरियो । छलफलका क्रममा दुई देश बीचको आर्थिक तथा व्यापारिक सूचनाको आदान प्रदान, लगानीका सम्भाव्यताको थप पहिचान, नेपालमा लगानी आकर्षणका लागि आर्थिक कुटनीतिको सक्रिय पहल एवं व्यवसायिक भ्रमणमा जोड दिइयो ।