नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेसंग थाइल्याण्ड र क्यानाडाका लागि नवनियुक्त नेपाली राजदूतहरु क्रमश: खगराज अधिकारी र कालीप्रसाद पोखरेलले आज महासंघ सचिवालयमा भेटवार्ता गर्नुभयो ।
नेपाल र ती देश बीचको आर्थिक व्यवसायिक सम्भाव्यता र दुतावासको तर्फबाट खेल्नु पर्ने भूमिका र आर्थिक कुटनीतिका विषयमा सो अवसरमा छलफल भयो । सो अवसरमा क्यानाडासंग जलविद्युत विकासमा रहेको अनुभवलाई नेपालको जलविद्युत विकासमा आकर्षण गर्न कुटनीतिक तवरबाट सक्रिय पहल हुनुपर्नेमा जोड दिइयो । साथै नेपाल क्यानाडा बीचको आर्थिक तथा व्यवसायिक सम्भाव्यता, लगानी तथा प्रविधि आकर्षणमा निरन्तर कार्य गर्न जस्तो द्विपक्षीय परामर्श मंच स्थापनामा पनि जोड दिइयो ।
त्यसैगरि थाइल्याण्डले पर्यटन तथा व्यवसायिक कृषिमा हासिल गरेको प्रगति तथा अनुभव एवं थाइ पर्यटकहरुको नेपालमा आकर्षणका लागि राजदुतावासबाट पहल हुन जोड दिइयो । साथै दुवै देशसंग रहेको व्यापार घाटालाई कसरी कम गरी नेपाली वस्तुहरुको ती देशहरुमा निर्यात वढाउन सकिन्छ त्यस तर्फ पनि नवनियुक्त राजदुतहरुबाट महत्वपूर्ण भूमिका निर्वाह हुने महासंघका अध्यक्ष पाण्डेले विश्वास प्रकट गर्नुभयो ।
महासंघका उपाध्यक्ष किशोर प्रधान, महानिर्देशक डा. हेमन्त दवाडी उपस्थित रहनु भएको सो भेटवार्तामा दुवै राजदुतहरुले आवश्यक परेका वखत लगानीका सम्भाव्य क्षेत्रहरु तथा नीतिगत एवं अन्य महत्वपूर्ण सूचना तथा जानकारीका लागि महासंघसंग नजिकमा रहेर आफूहरुले कार्य गर्ने विश्वास समेत दिलाउनु भयो । साथै उहांहरुले नेपाली उद्यमी व्यवसायीहरु र आफू खटिएको देशका उद्यमी व्यवसायीहरु बीच नियमित भेटघाट, छलफल तथा संयुक्त सहकार्यको वातावरण वनाउन पहल गर्ने विश्वास समेत दिलाउनु भयो ।