नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको नेतृत्वमा महासंघको अनुशासन समितिका सभापति एवं पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु रामकृष्ण प्रसांई र उमेशलाल श्रेष्ठ सम्मिलित महासंघको प्रतिनिधिमण्डलले एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग आज विहान उहांको निवास लाजिम्पाटमा भेटगरि घोषित मितिमै संविधान ल्याउन आग्रह गर्नुका साथै एनेकपा(माओवादी)सहितको मोर्चाले आव्हान गरेको सम्पूर्ण विरोधका कार्यक्रमहरु फिर्ता लिन आग्रह गरेको छ ।
सो अवसरमा महासंघका अध्यक्ष पाण्डेले महासंघले पौष ७ गते काठमाडौंमा प्रमुख राजनीतिक दलहरुको सहभागितामा आयोजना गरेको वहस कार्यक्रमको जानकारी गराउंदै घोषित मितिमै संविधान जारी गरि मुलुकलाई संक्रमणकालबाट माथि उठाउन आग्रह गर्नुभयो । एनेकपा(माओवादी)सहित मोर्चाले आव्हान गरेको सम्पूर्ण विरोधका कार्यक्रमहरु फिर्ता लिई प्रमुख राजनीतिक दलहरु बीच घनिभुत छलफल गरि संविधानका विषयमा एउटा सहमतीमा पुग्न समेत अध्यक्ष पाण्डेले निजी क्षेत्रको तर्फबाट अनुरोध गर्नुभयो । संविधान विना मुलुकमा लगानीको वातावरण नवन्ने र मुलुक आर्थिक रुपमा अझ जर्जर हुने तर्फ ध्यानाकर्षण गराउंदै बन्दै गएको लगानीको वातावरणलाई समेत विचार गरि राजनीतिक दलहरुले संविधान दिनेमा निजी क्षेत्र विश्वस्त रहेको वताउनु भयो ।
महासंघको अनुशासन समितिका सभापति एवं पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले मुलुकमा लगानीको वातावरण बन्दै गएको र धेरै लगानी समेत आइरहेको परिप्रेक्षमा फेरी बन्द हड्तालका कार्यक्रमहरु आव्हान गरिंदा स्वदेशी तथा वाह्य लगानीकर्ताहरुमा नकारात्मक संदेश जानेतर्फ ध्यानाकर्षण गराउंदै तत्काल त्यस्ता कार्यक्रमहरु फिर्ता लिन आग्रह गर्नुभयो ।
सो अवसरमा एनेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले निजी क्षेत्रको चासोलाई आफूले अत्यन्त गम्भीरता पूर्वक लिएको र निजी क्षेत्रको चासोलाई आफ्नो दलीय मोर्चामा राख्ने विश्वास पनि दिलाउनु
भयो । उहांले सहमतीमै संविधान ल्याउन प्रमुख दलहरुलाई दवाव दिने उद्देश्यले विरोधका कार्यक्रम घोषणा गरिएको र पछिल्लो पटक दलहरु बीच विकसित सकारात्मक कदमबाट सहमती निर्माण हुने तर्फ आफूपनि आशावादी रहेको र सहमती निर्माण हुनसके विरोधका सवै कार्यक्रम फिर्ता हुने विश्वास दिलाउनु भयो । उहांले आफ्नो दलले सधै निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्ने गरेको र विगतमापनि नेपाल उद्योग वाणिज्य महासंघसंग नजिकमा रहेर कार्यगर्दै आएको स्मरण गराउनु भयो ।