* पूर्वाधार विकासनै मध्यपश्चिमको पहिलो आवश्यकता,
* समयमै संविधान ल्याउन जोड
* मध्यपश्चिमको विकासका लागि मध्यपहाडी राजमार्ग सेतूहुन सक्ने
नेपाल उद्योग वाणिज्य महासंघको मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघहरुको क्षेत्रीय भेला नेपालगंजमा सम्पन्न भयो । नेपालगंज उद्योग वाणिज्य संघको आतिथ्यतामा सम्पन्न भेलाले मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको नयां नेतृत्व समेत चयन गरेको छ ।
उक्त भेलाको पौष १९ गते उद्घाटन गर्नु हुंदै प्रमुख अतिथि महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले मध्यपश्चिमाञ्चल क्षेत्र विकासको वलियो संभावना रहेको क्षेत्र भएको वताउनु भयो । सिंगो कर्णाली अंचललाई मोटरवाटोसंग जोड्न सकिएमा यस अंचललेनै सिंगो विकास क्षेत्रलाई पाल्न सक्ने प्राकृतिक श्रोत रहेको उहांले वताउनु भयो । जडीवूटी देखि प्राकृतिक छटाले भरिएको यो क्षेत्र पर्यटन विकासका लागि भंडार रहेको अध्यक्ष पाण्डेको दावी थियो । पूर्वाधारको आभावले गर्दा यहांका जडीवूटी, फलफूल तथा कृषि वालीहरुले उचित मुल्य पाउन नसक्दा यो क्षेत्र सधै पछाडी रहन वाध्य भएकाले पूर्वाधार विकास यस क्षेत्रको लागि अपरिहार्य भएको वताउनु भयो । अपार सम्भाव्यताका वावजुदपनि काम हुन नसक्दा सधै पछाडी रहन वाध्य मध्यपश्चिमाञ्चलको विकासको अर्को महत्वपूर्ण आधारको रुपमा देखा परेको मध्य पहाडी राजमार्ग समयमा सम्पन्न हुन सकेमा यस क्षेत्रले विकासमा फड्कोमा मार्ने दावी उहांले गर्नुभयो ।
राजनीतिक इच्छा शक्ति भएमा मुलुकको विकास निकै द्रुतगतिमा हुन सक्ने भन्दै अध्यक्ष पाण्डेले जनताको अपेक्षा अनुसारको संविधान समयमै दिएर मुलुकलाई विकासको मार्ग अगाडी लैजान अपिल पनि गर्नुभयो । यस क्षेत्रको विकासका लागि साझा योजनाहरु वनाएर अगाडी बढ्न उद्योग वाणिज्य संघहरुलाई अपिल समेत गर्नुभयो ।
महासंघका विशिष्ट सदस्य एवं पुर्व अध्यक्ष चण्डिराज ढकालले आर्थिक रोजगारी बढाउन महासंघले थुपै कामहरु गरेको स्पष्ट पार्नुहुंदै मध्यपश्चिमाञ्चल भन्दा पछि बनेका अरु क्षेत्रीय उद्योग वाणिज्य संघहरु धेरै अगाडी पुगिसकेकाले मध्यपश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघले पनि आफूलाई सोही अनुरुप अगाडी बढाउन आग्रह गर्नुभयो ।
महासंघको अनुशासन समितिका सभापति एवं पुर्व अध्यक्ष रविभक्त श्रेष्ठले यतिखेर मुलुकको प्रमुख चिन्ताको विषय समयमै संविधान आउने होकि नआउने भन्नेनै रहेको वताउंदै समयमै संविधान ल्याउन चौतर्फी दवाव दिनुपर्ने धारणा राख्नु भयो । सविधान वनेर मुलुक स्थायीत्व तर्फ जाने वित्तिकै नेपालको विकासका लागि पर्याप्त लगानी आउने उहांको दावी थियो । मध्यपश्चिमाञ्चल भेलाले क्षेत्रीय विकासमा महत्वपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गर्दै सफलताको कामना गर्नुभयो ।
सभापतिको आशनबाट महासंघका उपाध्यक्ष किशोर प्रधानले क्षेत्रीय भेला यस क्षेत्रको समग्र विकासमा केन्द्रीत हुन आग्रह गर्दै मिलेर योजना बनाउंदै समग क्षेत्रको विकासको लागि समृद्ध मध्यपश्चिमको अभियान संचालन गर्नुपर्नेमा जोड दिनु भयो ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले क्षेत्रीय भेलाले यस क्षेत्रको विकासका लागि साझा रणनीति तय गर्नेमा आफू विश्वस्त रहेको वताउनु हुंदै भेलाको सफलताको कामना गर्नुभयो । उहांले स्थायीत्व र आर्थिक विकासका लागि समयमा संविधानको आवश्यकतामा जोड दिनुभयो । उहांले कर उठाउने नाउमा करदातालाई नतर्सायी करमैत्री वातावरण निर्माण गर्न सरकारलाई अपिल समेत गर्नुभयो ।
महासंघको कृषि उद्यम केन्द्रका सभापति भवानी राणाले जिल्ला नगर उद्योग वाणिज्य संघहरु महासंघको आधार रहेकाले संघहरुको विकासका लागि महासंघले विभिन्न कार्यक्रमहरु ल्याएको वताउनु भयो । क्षेत्रीय उवासंघले क्षेत्रिय विकासमा महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा उहांको जोड थियो । क्षेत्रीय उवासंघले समगरुपमा क्षेत्रगत सम्भावना र चुनौतिलाई समाधान गर्न सक्छ भन्ने आवश्यकता महशुस गरिएको पनि उहांले वताउनु भयो । मध्यपश्चिम कृषि र पर्यटनमा निकै सम्पन्न भएको र यसको उत्खनन नै अहिलेको महत्वपूर्ण चुनौती रहेको उहांले वताउनु भयो ।
कार्यक्रममा महासंघको कार्यकारिणी समिति सदस्य एवं मध्यपश्चिमान्चल क्षेत्रीय भेला एवं निर्वाचन संयोजक निरक के.सीले कार्यक्रमवारे जानकारीका साथै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
स्वागत मन्तव्य नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष: कृष्ण प्रसाद श्रेष्ठले दिनु भएको सो कार्यक्रममा उप क्षेत्रीय पशासक डा. नारायण वहादुर थापा, महासंघको कार्यकारिणी समिति सदस्यहरु सुनिल कुमार शर्मा, हरिहर बुढाथोकी, नरवीर रावत, टेक बहादुर भण्डारी, दिपक लम्सालले शुभकामना मन्तव्य दिनु भएको थियो ।
@ मपक्षेउवासंघको अध्यक्षमा शाही निर्वाचित
सोही दिन सम्पन्न मध्यपश्चिमान्चल क्षेत्रीय उद्योग वाणिज्य संघको निर्वाचनबाट सो संघको अध्यक्षमा सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्ष पदम वहादुर शाही निर्वाचित हुनुभएको छ ।
त्यसैगरि उपाध्यक्षमा गोविन्द वहादुर शाही र महासचिवमा इमान सिंह भारती निर्वाचित हुनु भएको छ भने निर्वाचित सदस्यहरुमा नरवहादुर रोकाय, रचना श्रेष्ठ, रविलाल नेपाली, प्रमोद पोख्ररेल, चन्द्रमणि पौडेल र हरिजंग शाही हुनुहुन्छ ।
@ कर्णाली अचल सम्पन्न
सो कार्यक्रम पश्चात सोही दिन नेपालगंजमै महासंघको कर्णाली अचलभित्रका उद्योग वाणिज्य संघहरुको कर्णाली भेला समेत सम्पन्न भयो ।